बिपी राजमार्ग पुनर्निर्माणको क्रममा फाउन्डेसन पर्खाल निर्माणको लागि जग लगाउने क्रममा माथिबाट ढिस्को खसेर पुरिँदा एक मजदुरको मृत्यु भएको छ भने एकजना सामन्य घाइते भएका छन्। राजमार्गअन्तर्गत चार सय बेँसी–डलाबेँसी खण्डअन्तर्गत रोशी गाउँपालिका–८, स्याउली बजारमा पुनर्निमाण क्रममा ढिस्कोले पुरिएर घाइते भएका दुईमध्ये एकको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार आइतबार बिहान फाउन्डेसन वालको जगमा ढुंगा हाल्ने क्रममा माथिबाट ढिस्को खसेर पुरिएको थियो। त्यहाँबाट उद्धार गरी उपचारका लागि मेथिनकोट अस्पताल पुर्याएका थिए। थप उपचारका लागि धुलिखेल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा जाजरकोटनिवासी २१ वर्षीय दीपेन्द्र थापामगर रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। कार्कीका अनुसार घाइते हुने जाजरकोटकै २३ वर्षीय नवीन रोक्का छन्।
गत वर्षको रोशी खोलाको बाढीले बिपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्ड बगाएपछि अहिले पुनर्निर्माण भइरहेको छ। बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण भैरहेको छ। उक्त चार सय बेँसीदेखि डालाबेँसीसम्म ९ किलोमिटर खानी–कमलजित–एवान जेभीले एक अर्ब २२ करोडमा सम्झौता गरी काम गरिरहेको छ।