कुमाख गाउँपालिकाका ११ खानेपानी मुहानमा कोलफर्म फेला

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

सल्यानको कुमाख गाउँपालिकाका विभिन्न खानेपानी मुहानको परीक्षण गर्दा ११ मुहानमा दिसामा पाइने जीवाणु (काेलिफर्म) फेला परेको छ । सबैका लागि दिवो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाले पालिकाभित्रका विभिन्न ८३ खानेपानी मुहानको पानी परीक्षण गर्दा ११ खानेपानी मुहानमा कोलिफर्म भेटिएको हो । 

पानी परीक्षण ७ वटा प्रमुख प्यारामिटरको आधारमा गरिएको कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार सोनीले जानकारी दिए । ८ गतेदेखि १२ गतेसम्म गरिएको परीक्षणमा ११ वटा मुहानमा कोलिफर्म, १० वटामा धमिलोपना र बाँकी मुहानको पानीको परीक्षणका प्यारामिटरहरू नेपाल सरकारको मापदण्डअनुसार रहेको पाइएको उनको भनाइ छ ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पानीको गुणस्तरलाई उच्च प्राथमिकतामा राखिएको सोनीले बताए। उनले भने नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउनु पालिकाको प्रमुख दायित्व हो । परीक्षणमा समस्या देखिएका मुहानहरूमा आवश्यक सुधारात्मक कार्य तत्काल अघि बढाइन्छ । 

पानी गुणस्तर परीक्षणले समुदायमा सरसफाई र वातावरणीय सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको वन, वातावरण तथा विपत् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले बताए । उनले भने पानीको गुणस्तरमा देखिएका समस्यालाई समाधान गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य छ । 
पालिकाले आगामी दिनमा पनि सुस्वा परियोजनाको सहकार्यमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

सुझावित समाचार