जन्तेढुंगा गाउँपालिकामा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

जन्तेढुंगा गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको छ । देशभर जाडो बढेसँगै आफ्नो गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई चिसोका कारण लाग्ने विभिन्न प्रकारका रोगबाट बचाउन गाउँपालिकाले न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको हो । 

गाउँपालिकाभित्रका ५१५ जना ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गर्ने कार्यक्रमअनुसार पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा २९ जना ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ । ‘हाम्रो साझा अभियान, ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ गाउँपालिकाको कार्यालय चिसापानी बजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरू गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको न्यानो ज्याकेट पाएपछि हर्षित भएका छन् । 

गाउँपालिकाभित्र रहेका बाँकी ४८६ जना ज्येष्ठ नागरिकलाई भने केही दिनपछि उनीहरूको वडा–वडामा गएर न्यानो ज्याकेट वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिएकी छिन् । देशभर एकसाथ बढेको जाडोबाट आफ्नो गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जोगाउनका लागि राहतस्वरूप न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको ज्याकेट वितरण कार्यक्रममा उपप्रमुख खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंलगायतको उपस्थिति रहेको थियो । ६ वटा वडा रहेको उक्त गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य उपचार तथा न्यानो कपडा वितरणका लागि चालू आर्थिक वर्षमा रु. ६ लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी विनय निरौलाले जानकारी दिएका छन् । 

यता, ज्येष्ठ नागरिक संघ जिल्ला कार्यसमिति खोटाङले पनि दिक्तेल बजारमा विविध कार्यक्रमका साथ पाँचाैँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न सन्देशमूलक नारासहित निकालिएको प्रभातफेरीले दिक्तेल बजार परिक्रमा गरेको थियो । 

दिक्तेलस्थित किराँतचोकबाट सुरु गरिएको प्रभातफेरीमा ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौँ’, ‘वृद्धवृद्धालाई माया गरौँ’, ‘पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाऔँ, समाजमा केही गरौँ’जस्ता सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरिएको थियो । ज्येष्ठ नागरिक समाजका अमूल्य अभिभावक र मार्गदर्शक भएकाले उनीहरूको योगदानलाई सबैले सम्मान गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताएका छन् । 

दस स्थानीय तह रहेको खोटाङका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा विविध कार्यक्रम गर्दै पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएका छन् । आ–आफ्नो पालिकाभित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, सम्मान तथा स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गर्दै स्थानीय तहहरूले दिवस मनाएका हुन् । 

नेपाल सरकारले प्रत्येक वर्ष पुस ११ गतेकाे दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउँदै आएको छ । 

सुझावित समाचार