पछिल्ला केही दिनदेखिको शीतलहरसँगै चलेको चिसो हावाले जनजीवन प्रभावित भएको छ । शीतलहरले दैनिक ज्यालादारी तथा कामका सिलसिलामा बाहिरिनुपर्नेलाई सास्ती भएको छ भने विद्यालय जाने बालबालिका तथा शिक्षकहरूसमेत प्रभावित भएका छन् । अझै शीतलहरको प्रभाव घट्ने क्रम नभएकाले जिल्लाका केही स्थानीय तहले विद्यालयमा जाडो बिदा घोषणा गरे ।
जलेश्वर नगरपालिकाले बुधबार एक दिन बिदा दिए पनि शुक्रवार विद्यालय नियमित रहेको छ भने मटिहानी नगरपालिकाले जाडो बिदा दिएको छैन । यता पिपरा गाउँपालिकाले आज विद्यालय सञ्चालन गरेर आइतबारदेखि बिदा दिने सूचना प्रकाशित गरेको छ । त्यस्तै, औरही नगरपालिकाले आज शुक्रबारसम्म बिदा दिएको छ । यस्तै, मनरा सिस्वा नगरपालिकाले आइतबारदेखि बिदा दिने तयारी गरेको छ भने एकडारा गाउँपालिकामा बिदा छैन । त्यस्तै, सम्सी गाउँपालिकामा जाडो बिदा दिएको छ ।
सोनमा गाउँपालिकामा आज शुक्रबारसम्म र लोहारपट्टी नगरपालिकाले समेत आज शुक्रबारसम्मलाई सामुदायिक तथा धार्मिक विद्यालयहरू बन्द राखेका छन् । यता रामगोपालपुर नगरपालिकाले आज शुक्रबारसम्म र भंगहा नगरपालिकाले पुस १३ गतेसम्मलाई विद्यालय बन्द राखेको छ । त्यस्तै, बर्दीबास नगरपालिकामा शीतलहरको प्रभाव त्यति धेरै नहुँदा विद्यालय नियमित सञ्चालनमा रहेको बर्दीबास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यता महोत्तरी गाउँपालिकामा आज शुक्रबारसम्म बिदा छ भने गौशाला नगरपालिकाले अझै बिदा दिने–नदिनेबारे निर्णय गरिसकेको छैन । बलवा नगरपालिकाले यसअघि दुई दिन बिदा दिए पनि बिदा बढाउने वा कक्षा नियमित गर्नेबारे अझै निर्णय सार्वजनिक गरेको छैन ।
शीतलहरको अत्यधिक प्रभाव बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने गरेकोमा विद्यालय जाने बालबालिका र दीर्घरोगी ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् ।