कांग्रेसको हालसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको छ । जनसम्पर्क समिति र विवाद भएका केही जिल्लाबाहेक ७५ प्रतिशत नवीकरण भएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए । ‘केही जिल्लामा विवाद छ । अहिलेसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भयो । यसमा जनसम्पर्क समिति र विवाद देखिएका जिल्लाको जोडिएको छैन,’ स्नेहीले भने ।
१४औँ महाधिवेशनमा आठ लाख ८३ हजार सदस्य थिए । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नियमित काम गरिरहेको छ । १४औँ महाधिवेशनमा ७२ प्रतिशत क्रियाशील सदस्यले नवीकरण गरेका थिए ।
कांग्रेसले अन्य राष्ट्रिय दल छाडेर आएकालाई पनि क्रियाशील सदस्यता दिएको छ । जसपा संसदीय दलको नेता, लुम्बिनी प्रदेशका अध्यक्षसहित कांग्रेस प्रवेश गरेकाले कपिलवस्तु १ मा ६७५ नवीकरण फारम उपलब्ध गराउने निर्णय पनि भएको छ । छुटपुट रहेकाले केन्द्रबाट नवीकरण गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
१४औँ महाधिवेशनका बेला १५औँ महाधिवेशनमा भाग लिने गरी निर्णय भएअनुसार क्रियाशीलको फारम दिने निर्णय पनि व्यवस्थापन समितिले गरेको स्नेहीले बताए । ‘सुर्खेत, काठमाडौँ ६ र पर्सा ३ मा क्रियाशील फारम दिने निर्णय भएको छ,’ उनले भने ।
नयाँ क्रियाशील सदस्यताको अपडेट हुने क्रम जारी रहेको छ । कांग्रेसले २६–२८ पुसमा केन्द्रीय महाधिवेशनको मिति तोकेको छ ।