हेटौँडाको भुटनदेवी माविका शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ।

विद्यालयले आफ्नै आन्तरिक स्रोत परिचालन गर्दै निजी स्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो। यससँगै भुटनदेवी मावि सामुदायिक विद्यालयहरूमध्ये शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नेपालकै पहिलो विद्यालय बनेको छ।

सामाजिक सुरक्षा कोष स्थापना अभियानका अभियन्ता तथा जिफन्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आयोजित विशेष कार्यक्रमबिच आबद्ध शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषको परिचयपत्र (कार्ड) वितरण गरेका थिए।

कार्यक्रममा उनले श्रम अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति दिन सामुदायिक विद्यालयहरू पनि सक्षम र उत्तरदायी हुन सक्छन् भन्ने सन्देश भुटनदेवी माविले दिएको बताए।

हेटौँडा उपमहानगरपालिका– ४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले यो पहलले शिक्षक तथा कर्मचारीको दीर्घकालीन सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गरेको बताए। सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि विद्यालयको संस्थागत उत्तरदायित्व र विश्वासनीयता थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले यस कदमले अन्य सामुदायिक विद्यालयहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीतर्फ अग्रसर गराउने प्रेरणा दिने बताए।

भुटनदेवी माध्यमिक विद्यालयको यो निर्णयलाई शिक्षा र श्रम अधिकारको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि र उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ। यसले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षालाई संस्थागत गर्दै गुणस्तरीय शिक्षाका लागि स्थायित्व र भरोसा थप्ने अपेक्षा गरिएको वडाध्यक्ष सिग्देलले बताए।

सुझावित समाचार