- नाइजेरियामा भइरहेका अपहरण र हिंसाका घटनालाई धार्मिक उत्पीडनका रूपमा व्यवहार गर्नु गलत मात्र नभई जोखिमपूर्णसमेत छ
नोभेम्बरको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नाइजेरियामा इसाई धर्मले अस्तित्वगत खतराको सामना गरिरहेको’ घोषणा गरे । आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा उनले ‘कट्टरपन्थी इस्लामवादी’लाई ‘सामूहिक हत्या’को आरोप लगाए । उनले अगाडि चेतावनी दिए– ‘अमेरिका अहिले बन्दुकधारीले भरिएका अपमानित देशमा’ परिचालन हुन सक्छ । यो दाबी नाइजेरियाको हिंसा धार्मिक विचारधारामा आधारित छ भन्ने धारणामा आधारित छ ।
नोभेम्बरको मध्यमा स्कुल अपहरणको नयाँ लहरले उत्तरी नाइजेरिया सबै धर्मका बालबालिकाका लागि कति खतरनाक क्षेत्र बनेको छ भन्ने देखायो । १७ नोभेम्बरमा केब्बी राज्यको मागामा रहेको माध्यमिक विद्यालयमा हतियारधारीले छापा मारेर एक उपप्रधानाध्यापकको हत्या गरे र २५ विद्यार्थीलाई अपहरण गरे । विद्यालय सरकारद्वारा सञ्चालित थियो र पीडितमा मुस्लिम केटी पनि थिए । आक्रमणका क्रममा एकजना भागे र बाँकी २४ जनालाई पछि उद्धार गरियो ।
केही दिनपछि २१ नोभेम्बरको बिहान बन्दुकधारीले नाइजर राज्यको पापिरीमा रहेको सेन्ट मेरी क्याथोलिक प्राथमिक तथा माध्यमिक विद्यालयमा आक्रमण गरी विद्यार्थी र शिक्षकलाई अपहरण गरे । पछि केही बन्दी भागे, धेरै डिसेम्बरको मध्यसम्म बेपत्ता रहे, जसले गर्दा परिवारहरू पीडादायी अनिश्चिततामा परे । अपहरणपछि प्राय: अभिभावक जवाफहीन हुन्छन् । आधिकारिक आश्वासन फिक्का हुँदै जाँदा उनीहरूको निराशा र पीडा क्रोधमा परिणत हुन्छ । एकसाथ हेर्दा यी आक्रमणले धार्मिक उत्पीडनको अभियानलाई प्रतिबिम्बित गर्दैनन् । तिनीहरूले उत्तरी नाइजेरियाभरि बढ्दो रूपमा परिचित हुँदै गएको फिरौतीको ढाँचा पछ्याउँछन् ।
जब हिंसालाई संगठित अपराधको सट्टा धार्मिक युद्धका रूपमा वर्णन गरिन्छ, तब समाधानहरू सैन्यीकृत हुन्छन् र विदेशी हस्तक्षेप सहज लाग्न थाल्छ । जटिल विदेशी संकटलाई सर्वनाशकारी नैतिक नाटकमा रूपान्तरण गर्ने बानी अमेरिकी शक्तिको छ र त्यसपछि यिनको आफैँले भनेको कथामा अभिनय गर्ने बानी छ । तैपनि, भूभाग र जनतालाई नजिकबाट चिन्ने नाइजेरियाली चर्चका नेताहरूले वासिंटनको कथालाई अस्वीकार गर्छन् । उदाहरणका लागि नाइजेरियाको शान्ति निर्माण प्रयासका एक अग्रणी व्यक्तित्व सोकोटोका क्याथोलिक विशप म्याथ्यु कुकाहले हिंसालाई धार्मिक युद्धका रूपमा व्याख्या नगर्न चेतावनी दिए । उनले आपराधिक मनसाय र राज्य असफलतालाई औँल्याए । आक्रमणहरू क्रिश्चियन र मुस्लिम दुवैमाथि समान रूपमा भएका छन् र प्राय: धर्मशास्त्रको सट्टा डकैती र फिरौतीको ढाँचा पछ्याउँछन् भन्नेमा विश्लेषकले जोड दिएका छन् । केब्बी राज्यमा पीडितहरू राज्यद्वारा सञ्चालित बोर्डिङ स्कुलबाट लगिएका मुस्लिम स्कुले बालिका थिए । नाइजर राज्यमा क्याथोलिक मिसन स्कुलका विद्यार्थी र शिक्षक थिए । यो हिंसा मुख्यतया धार्मिक विश्वासभन्दा पनि नाफा–सञ्चालित आपराधिक हिंसाबाट प्रेरित छ । दीर्घकालीन गरिबी, ग्रामीण उपेक्षा र युवा बेरोजगारी (लगभग ७२ प्रतिशत नाइजेरियाली गरिबीमा बाँचिरहेका छन्) ले आपराधिक र सशस्त्र सञ्जालमा भर्तीलाई बढावा दिन्छन् ।
अब प्रमुख खतरा एकल वैचारिक रूपमा सञ्चालित विद्रोही आन्दोलनको सट्टा सशस्त्र ‘डाकु’ सञ्जालबाट उत्पन्न हुन्छ । यी आपराधिक मिलिसियाले फिरौतीका लागि स्कुले केटाकेटी र यात्रुलाई अपहरण गर्छन्, गाईवस्तु चोर्छन्, गाउँमा जबर्जस्ती गर्छन्, राजमार्गमा आक्रमण गर्छन्, अवैध खानीमा बढ्दो रूपमा पहुँच पुर्याउँछन् र प्राय: उत्तरपश्चिमका वन आधारबाट सञ्चालित हुन्छन् । नाइजेरियाले एउटा होइन, तर धेरै सशस्त्र खतराको सामना गरिरहेको छ । उत्तरपूर्वमा बोको हराम र पश्चिम अफ्रिका प्रान्तमा आइएसआइएल (आइएसआइएस) सम्बद्ध समूह सक्रिय छन् । उत्तरपश्चिम र उत्तर–मध्यक्षेत्रमा सशस्त्र डाकु सञ्जाल हाबी छ । अझ दक्षिणी क्षेत्रको मध्य बेल्टमा, मिलिसिया हिंसाले भूमि विवाद र साम्प्रदायिक तनावलाई मलजल गर्छ । परिणाम ठुलो विस्थापन भएको छ । एम्नेस्टी इन्टरनेसनलको अनुमान छ कि मे २९, २०२३ मा राष्ट्रपति बोला टिनुबुले पदभार ग्रहण गरेपछिका दुई वर्षमा सशस्त्र आक्रमणमा १० हजारभन्दा बढी नागरिक मारिएका छन् । सयौँ गाउँ ध्वस्त भएका छन् वा खाली गरिएका छन् । हजारौँ बालबालिकाले विद्यालय छाडेका छन् । उत्तरपश्चिमका केही भागमा आक्रमण साप्ताहिक रूपमा र कहिलेकाहीँ दैनिक रूपमा हुन्छन् । अझ चिन्ताजनक के छ भने अपहरण अब राजधानी अबुजा र वरपरका राजमार्ग र यात्रु मार्गसम्म पुगेको छ ।
यस विपत्तिलाई धार्मिक उत्पीडनका रूपमा व्यवहार गर्नु गलत मात्र होइन, बरु जोखिमपूर्णसमेत छ । यो गलत फ्रेमिङले संगठित अपराध र राज्यको पतनलाई धार्मिक युद्धको मिथकमा परिणत गर्छ । जब वासिंटनले घरेलु पतनलाई नैतिक असफलताका रूपमा परिभाषित गर्छ, नाइजेरिया पुनर्निर्माणको आवश्यकता भएको देशका रूपमा देखिन छोड्छ र बाहिरबाट व्यवस्थापन गर्नुपर्ने अन्तर्राष्ट्रिय खतराजस्तो देखिन थाल्छ । यस प्रक्रियामा, नाइजेरियाली नागरिकलाई अधिकारसहित जीवित मानवका रूपमा व्यवहार गर्नुको सट्टा अमूर्ततामा सीमित गरिन्छ ।
(महंका अलजजिराका स्तम्भकार हुन्)
अलजजिराबाट