बंगलादेशमा अनिश्चित बन्दै चुनाव

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण
  • निर्वाचन आयोगले तालिका घोषणा गरेपछि धेरैजसो शंका र चिन्ता हटेको थियो, तर हादीको हत्या र प्रतिक्रियामा भिडको आतंकले फेब्रुअरीमा हुने चुनावमाथि गम्भीर अशंका उत्पन्न भएको छ

बंगलादेशले यही डिसेम्बर २० मा युवा तथा आक्रामक राजनीतिज्ञ सरिफ उस्मान हादीको अन्त्येष्टि गर्यो । ३२ वर्षका उग्र दक्षिणपन्थी हादीलाई राष्ट्रिय कवि काजी नजरुल इस्लामको चिहान नजिक ढाका विश्वविद्यालयमा गाडियो । भारतविरोधी अभियानलाई आफ्नो मुल राजनीति बनाएका उनको अन्त्यष्टिमा दसौँ हजार मानिसको सहभागिता थियो । ‘हामी यहाँ तपाईंलाई बिदाइ गर्न आएका होइनौँ, हामी यहाँ तपाईंले भनेको कुरा पूरा गर्ने प्रतिज्ञा गर्न आएका हौँ,’ बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुसले भने ।

हादीलाई डिसेम्बर १२ मा ढाकामा टाउकोमा गोली हानी हत्या गरिएको थियो । उनलाई उपचारका लागि सिंगापुर लगिएको हादीलाई डिसेम्बर १८ मा त्यहाँको एक अस्पतालमा मृत घोषित गरेको थियो । उनको हत्यामा अबामी लिगको विद्यार्थी मोर्चा छात्रो लिगका नेताको संलग्नता रहेको आरोप छ र ती आरोपित भारत भागेको बताइएको छ । प्रदर्शनकारीले हादीका हत्यारालाई आश्रय दिएकोमा भारतलाई जिम्मेवार ठहर्याउँदै सरकारलाई हत्यारा सार्वजनिक गर्न आह्वान गरेका छन् ।

मदरसामा शिक्षित हादी ‘मुस्लिम राष्ट्रवाद’ समर्थन गर्थे र भारतीय प्रभुत्वबाट बंगलादेशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताउँथे । जीवन्त टेलिभिजन टक सोहरूमा उनको प्रभावशाली प्रस्तुतले उनलाई छोटो समयमा, विशेषगरी युवामाझ, एक प्रतिष्ठित व्यक्तित्व बनायो । ‘धेरै मानिस हादीको विचार वा उनको भाषा र उनको भाषणको तरिकासँग असहमत थिए । तर, उनीहरूले पनि हादी वास्तविक, इमानदार, साहसी र देशभक्त भएको महसुस गरे ,’ राजनीतिक विश्लेषक र शिक्षाविद् डा. जाहेद उर रहमान भन्छन् ।

विगत एक वर्षदेखि हादी र उनको प्लेटफर्म ‘इन्कलाब मञ्च’ले अबामी लिगको अधिनायकवादी शासनकालमा बंगलादेशमा आइपरेका सबै विपत्तिका लागि भारतलाई जिम्मेवार ठहर्याउँदै चर्को अभियान चलाएका थिए । उनको हत्याले आसन्न चुनावलाई बिथोल्ने खतरा बढेको छ । बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का नेता चिन्तित छन् । उनीहरूले चुनाव ढिलाइ गर्न षड्यन्त्र भइरहेको भन्दै चेतावनी दिइरहेका छन्, धेरैले गत हप्ताको घटनाक्रमलाई ध्यानमा राख्दै यसलाई जायज चिन्ताको रूपमा हेरेका छन् । वरिष्ठ बिएनपी नेतालाई लाग्छ कि हादीको हत्याले दुष्कर्म निम्त्याउने ‘बहाना’ प्रदान गर्न सक्छ । 

‘चुनावविरुद्ध सधैँ षड्यन्त्र भएको छ,’ बिएनपी अध्यक्ष खालेदा जियाका सल्लाहकार जहिर उद्दिन स्वपोनले एक अन्तर्वार्तामा भनेका थिए । ‘सबैले बुझ्छन् कि बिएनपीले स्वतन्त्र र निष्पक्ष चुनाव जित्नेछ । त्यहाँ केही व्यक्ति छन्, जसले यस्तो सम्भावना स्वीकार गर्न सक्दैनन्, तर तिनीहरूले औचित्य प्रदान गर्न सकेका छैनन् ।’ यद्यपि, पूर्वसांसद स्वपोनले सरकार वा निर्वाचन आयोगले चुनावको यात्रालाई उल्ट्याउन नसक्ने बताएका छन् । ‘चुनाव आयोग पहिले नै अन्तिम चरणमा पुगेको छ र चुनाव तालिका परिवर्तन गर्ने कुनै स्वीकार्य आधार वा सम्भावना पनि छैन,’ स्वपोनले भने । हादीको मृत्युको वरिपरिको भावनात्मक आक्रोशले कट्टरपन्थी समूहलाई पुरानो एजेन्डा अगाडि बढाउन उत्तम आवरण प्रदान गरेको देखिन्छ । बिहीबार राति देशका दुई ठुला अखबार,  बंगली भाषाको प्रोथोम आलो र अंग्रेजी भाषाको डेली स्टारमा भएको आक्रमणले सबैलाई स्तब्ध बनाएको देखिन्थ्यो । अन्तरिम सरकारले यस घटनाप्रति माफी मागेको थियो ।

तर, इस्लामी र भारतविरोधी नारा लगाउँदै सयौँ कार्यकर्ताले दुई भवनलाई केही घन्टासम्म जलाउन सक्ने दण्डहीनताले देशका मिडियालाई त्रसित बनाएको छ । ‘हसिनाको शासनकालमा पनि पत्रकारहरूको हृदयमा यो हदसम्मको धम्की र आतंक थिएन,’ ढाकाका पत्रकार नजमुल अहसनले फेसबुक पोस्टमा लेखे ,‘ हसिना क्रुर थिइन्, तर उनीसँग तर्क गर्न सकिन्थ्यो । भलै उनका ‘रेडलाइन’ र हामी तिनलाई पार गर्न सक्दैनथ्यौँ । तर, अहिले आक्रमण गर्नेहरूसँग तर्क गर्न सकिदैन । उनीहरूको रेडलाइनहरू नै के हो स्पष्ट छैनन् ।’

डेली स्टार र प्रोथम आलो अभिव्यक्ति स्वतन्त्रता र उदार, धर्मनिरपेक्ष मूल्य–मान्यताको कडा रक्षाका लागि परिचित थिए । तर, धार्मिक अतिवादको विरोध र १९७१ को बंगलादेशी मुक्ति युद्धको समर्थनले उनीहरूलाई इस्लामवादीको निसाना बनायो । ‘यी दुई पत्रिकाप्रति धेरै आक्रोश बंगलादेशभित्र र बाहिरका केही राजनीतिक तत्व, विशेषगरी उग्र इस्लामिक दक्षिणपन्थीहरूले उक्साएका छन्,’ बेलायती पत्रकार डेभिड बर्गम्यानले एक अन्तर्वार्तामा भने । दुई दशकदेखि बंगलादेशलाई कभर गर्दै आएका बर्गम्यान हसिनाको शासनका मुखर आलोचक थिए । उनको विश्वास छ कि यी दुई पत्रिकासँगै केही अन्य मिडिया तथा सस्था नयाँ वैचारिक आक्रमणको निशानामा पर्नसक्छन् । ‘अबामी लिग सरकारको समयमा जीवित र स्वतन्त्र रहन संघर्ष गरिरहेका अन्य धेरै कम प्रभावशाली मिडियासँगै यी पत्रपत्रिका वास्तवमा, चाहे उनीहरूलाई मन परोस् या नपरोस्, बंगलादेश के हो र के बन्नेछ भन्नेबारे देशभित्र वैचारिक संघर्षको अग्रपंक्तिमा छन्,’ उनले भने । 

दुई पत्रपत्रिकामा आक्रमण हुनुअघि पनि अबामी लिगको नजिक वा वर्तमान सरकारको आलोचक भनेर चिनिने पत्रकारले जेल जाने सम्भावनाको सामना गर्नुपरेको थियो । चारजना वरिष्ठ पत्रकार एक वर्षभन्दा बढी समयदेखि विनामुद्दा जेलमा छन् भने सयौँ मिडियाकर्मीमाथि हत्याका मुद्दा लगाइएको छ । हालसालै वरिष्ठ पत्रकार अनिस आलमगिर जासुसहरूको निगरानी परे । पछि उनलाई देशको आतंकवादविरोधी कानुनअन्तर्गत पक्राउ गरिएको थियो, जसलाई ह्युमन राइट्स वाचले हालै ‘कठोर’ भनेर वर्णन गरेको छ । बंगलादेशका मिडिया, देशका अन्य क्षेत्रजस्तै विगत डेढ वर्षदेखि उकुसमुकुसमा थिए । हसिनाको पतनसँगै आएको स्वतन्त्रताको आशामाथि आशंकाको बादल मडारिएको छ, किनकि मिडियामा विभिन्न प्रकारका बन्धन राख्न नयाँ अभिनेता देखा परेका छन् ।

अबामी लिगको शासनकालमा देशको मुख्य जासुस एजेन्सी ‘फोर्सेस इन्टेलिजेन्स महानिर्देशनालय (डिजिएफआई)’ मिडियालाई नियन्त्रणमा राख्न हसिनाले प्रयोग गर्ने लौरो थियो । युनुसले पदभार ग्रहण गरेदेखि डिजिएफआई कमजोर बनेको छ । तर, ढाकाका सम्पादकले नयाँ डरको कुरा गर्छन्– भिडको डर । यी भिडले आफूलाई ‘जुलाई क्रान्तिका योद्धा’ भनेर प्रस्तुत गर्छन् । डर यति स्पष्ट छ कि सम्पादक र रिपोर्टरहरू सार्वजनिक रूपमा बोल्न अस्वीकार गर्छन् ।

सबैभन्दा धेरै प्रचारित घटनामध्ये एकमा, ‘जुलाई योद्धाहरू’ले पत्रकारलाई बर्खास्त नगरेसम्म स्टेसनमा मार्च गर्ने धम्की दिएपछि तीन टिभी च्यानलले एकै दिन तीन पत्रकारलाई बर्खास्त गरे । उनीहरूको अपराध ? संस्कृतिमन्त्रीको पत्रकार सम्मेलनका क्रममा यी पत्रकारले हसिनाबारे सरकारको कथनलाई चुनौती दिने तरिकाले प्रश्न तयार पारे ।

युनुस सरकारले अबामी लिगमाथि गरेको दमन पार्टीमा मात्र सीमित छैन । लिगलाई फेब्रुअरी १२ मा हुने चुनावमा भाग लिनेलगायत कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । सरकारले विगतमा लिगलाई समर्थन गर्ने मानिसलाई ‘फासीवादका सहयागी’ भनेर लेबल लगाउँछ । समयसँगै आक्रमणको यो लाइन फराकिलो भएको छ । हालैका समयमा अबामी लिगका सहयोगी मात्र होइन, बरु १९७१ को मुक्ति युद्धको पक्षमा बोल्नेहरूलाई पनि मनमानी रूपमा जेल हालिएको छ ।

‘हामी मानव अधिकारको सन्दर्भमा अहिले डरलाग्दो अवस्थामा छौँ,’ पत्रकार तथा पोडकास्टर मोन्जुरुल आलम पन्नाले भने । पन्ना र अन्य एक दर्जनलाई हालै एउटा सेमिनारबाट समातिएको थियो । सुरुमा उनीहरूकै सुरक्षाका लागि भने पनि पछि आतंकवादविरोधी कानुनअन्तर्गत मुद्दा दायर गरी हप्तौँसम्म जेलमा राखिएको थियो । १९७१ को युद्धबारेको उक्त सेमिनारलाई बन्द गर्ने प्रयासमा सहभागीलाई शारीरिक रूपमा आक्रमण गर्ने भिडले अवरुद्ध गरेको थियो । जब प्रहरी आयो, तिनीहरूले आक्रमणकारीलाई बेवास्ता गरे र १६ जना सहभागीलाई लगे । उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो ।

‘महान्यायाधिवक्ताले आरोप लगाए कि हामी सरकार ढाल्न सशस्त्र विद्रोहको योजना बनाइरहेका थियौँ । यो हास्यास्पद आरोप हो,’ पन्नाले भने । मानव अधिकारकर्मी र वकिलहरू हजारौँ मानिसविरुद्ध झुटा मुद्दा हाल्न कानुनी प्रणालीको व्यापक प्रयोगबाट चिन्तित छन् । १०० भन्दा बढी पूर्वमन्त्री र सांसदसहित सयौँ व्यक्ति कारागारमा छन् । तर, उनीहरूलाई मुद्दा चलाउने विषय भेटिएको छैन । ‘स्पष्ट रूपमा, जुलाई/अगस्ट क्रान्तिपछि ठूला भ्रष्टाचार कान्ड लगायत अबामी लिगका राजनीतिज्ञको भूमिकाको सम्बन्धमा अनुसन्धान भएका छन् । यस्तै अन्य धेरै राम्रा काम भएका छन् । तर सरकारले त्यस पार्टीका सदस्यता वा समर्थकलाई नै अपराधीकरण गर्ने बाटो समाएका छ,’ बर्गम्यानले भने । 

गत वर्ष हसिनालाई पतन गराउने विरोध प्रदर्शनका क्रममा कम्तीमा ८३२ जना मारिएका थिए । संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले मृत्यु हुनेको संख्या एक हजार ४०० सम्म हुन सक्ने बताएको छ । हादीको हत्याको परिणाम र न्यायको मागसँग अन्तरिम सरकार जुधिरहेका वेला जनता धैर्यपूर्वक चुनावी रेल अर्को फेब्रुअरीमा सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुग्छ कि पुग्दैन भनेर पर्खिरहेका छन् । निर्वाचन आयोगले तालिका घोषणा गरेपछि धेरैजसो शंका र चिन्ताहरू हटेका थिए । अब शान्तिपूर्ण र विश्वसनीय चुनावबाट सबैभन्दा बढी फाइदा उठाउने पार्टी बिएनपी युनुससँग आफ्नो वाचा पूरा गर्नुबाहेक थोरै विकल्प रहेको महसुस गर्दैछ ।

मुस्तफा बिबिसी बंगलाका पूर्वप्रमुख र ‘भोइस अफ अमेरिका, बंगला’का पूर्वप्रबन्ध सम्पादक हुन् ।

द वायरबाट

सुझावित समाचार