निर्माण सकिएको दुई वर्षपछि सञ्चालनमा आयो चित्लाङ भ्युटावर

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

निर्माण सम्पन्न भएको करिब दुई वर्षपछि थाहा नगरपालिकाको चित्लाङमा रहेको भ्युटावर औपचारिक रूपमा सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको चित्लाङ भ्युटावर तथा हिल स्टेसन बुधबार उद्घाटन गरिएको हो।

स्थानीय तहले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी निर्माण गरिएको उक्त संरचना सञ्चालन कार्यविधि र प्रदेश तथा स्थानीय तहबिच सहमति नजुट्दा लामो समयसम्म प्रयोगविहीन थियो। अन्ततः आवश्यक सम्झौता र व्यवस्थापन कार्यविधि तयार भएपछि भ्युटावर सर्वसाधारणका लागि खुला गरिएको हो।

बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको भ्युटावरको उद्घाटन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले संयुक्त रूपमा गरे। 

प्रदेश सरकारले ‘चित्लाङ हिल स्टेसन प्याकेज’ कार्यक्रमअन्तर्गत कुल पाँच करोड २७ लाख ४७ हजार लागतमा भ्युटावर र अन्य सहायक संरचनाहरू निर्माण गरेको थियो। ०७७ र ०८० सालमा गरी दुई प्याकेजमा निर्माण सम्पन्न भए पनि हस्तान्तरण तथा व्यवस्थापनको कार्यविधि नबन्दा संरचना सञ्चालनमा आउन सकेको थिएन।

गत साता मात्रै प्रदेश सरकारले उक्त पर्यटकीय संरचना थाहा नगरपालिकालाई हस्तान्तरण गरेको हो । भ्युटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिका र प्रदेशको पर्यटन विकास आयोजनाबिच १० बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार नगरपालिकाले भ्युटावर आफैँ सञ्चालन गर्न वा संघसंस्था तथा समितिमार्फत ठेक्कामा दिन सक्नेछ ।

टावरबाट हुने आम्दानीमध्ये ७० प्रतिशत हिस्सा थाहा नगरपालिकाले पाउने र बाँकी ३० प्रतिशत रकम बागमती प्रदेश सरकारको राजस्व खातामा अर्धवार्षिक रूपमा जम्मा गर्नुपर्ने पर्यटन विकास आयोजनाका प्रमुख रोशन श्रीवास्तवले जानकारी दिए। 

सम्झौतामा संरचना पर्यटन प्रवर्द्धनबाहेक अन्य कुनै पनि उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । भ्युटावर परिसरमा मुख्य टावरसँगै क्रिएसन हल, शौचालय, रिटेनिङ वाल, गेट र गार्ड हाउसलगायतका संरचना निर्माण गरिएको छ । संरचनाको मर्मतसम्भार आवश्यक परेमा एकपटकका लागि प्रदेशको पर्यटन मन्त्रालयले लागत बेहोर्ने सम्झौतामा उल्लेख गरिएको श्रीवास्तवले बताए ।
 

सुझावित समाचार