नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौं प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान थालेको छ। जेन–जी आन्दोलनपछि सिंगो प्रहरी संगठनलाई सेवामा फर्काउन जनस्तरबाट भएका पहलकदमीको भावनालाई प्रतिविम्बित गर्नका लागि प्रहरीका तर्फबाट ‘हाम्रो प्रहरी’को अवधारणा अघि बढाइएको जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रमेश थापाले बताए।
प्रहरी संगठनबाट यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ। 'प्रहरी आमनागरिकको हो भन्ने अवधारणालाई स्थापित गरेर आगामी दिनमा नागरिक समाज र प्रहरीबिचको सुसम्बन्धलाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ,' एसएसपी थापा भन्छन्, 'यसबाट प्रहरी–नागरिकबिचका अविश्वास हल गर्न तथा अपराध न्यूनीकरण, कुरीति अन्त्य, सुशासन र सामाजिक सुव्यवस्था कायम गर्न मद्दत मिल्नेछ।'
अभियानअन्तर्गत मंगलबारदेखि नै प्रहरीको विभिन्न युनिटबाट जनसम्बन्ध विस्तारका काम थालनी भएका छन्। 'टोलटोलमा प्रहरी कर्मचारीहरु स्थानीय नागरिकसँग भेटघाट गर्न घरदैलोमा पुग्नुभएको छ,' एसएसपी थापा भन्छन्, 'छिट्टै विद्यालय र क्याम्पसमा युवासँग प्रहरीको महत्त्व र सुरक्षाका बारेमा अन्तरसंवाद गरिनेछ।'