निःशुल्क शिविरमा मुटु जाँच गराउनेको भिड

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

सिराहामा मुटु जाँच गराउनेको भिड लागेको छ। शिविरमा महिला र पुरुषको बिहानैदेखि मुटु जाँच गराउने लाइन लागेको थियाे। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा आयोजना गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा मुटु जाँच गराउन आउनेहरूलाई जाँचसँगै निःशुल्क रूपमा औषधिसमेत वितरण गरिएको छ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक सिनियर कार्डोलोजिस्ट प्रा.डा. रवि मल्ल नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गर्दै आएका छन्। निःशुल्क मुटु परीक्षण गराउन आउनेहरूको बिहानैदेखि भिड लागेको शिविर आयोजना गरेका डा. प्रवीणकुमार यादवले बताए।

पोर्टेबल इको र इसिजी मेसिनसहित शिविरमा जाँच गर्न केन्द्रका डिएम कार्डोलोजिस्ट चार, मेडिकल अधिकृत ६ जनासहित २२ जनाको टोली आएको छ। टोलीले पहिलो दिनमा पाँच सयभन्दा बढीको इको र इसिजी जाँच गरेको छ। शिविरमा जटिल मुटुरोगीहरूको थप उपचार केन्द्रले निःशुल्क रूपमा गर्ने डा. यादवले बताए।

दुईदिने शिविर भएकाले सिराहा सदरमुकामका विभिन्न वडा र नजिककाे स्थानीय तहबाट मुटु जाँच गराउने आउनेहरूको संख्या बढ्ने डा. यादवले बताए। मुटु जाँचको क्रममा कस्तो जोखिम छ वा छैन त्यसबारे तथ्यांक संकलन पनि भइरहेको उनले बताए।

सुझावित समाचार