- २५ पुसदेखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी सातदोबाटो युथले फिनिसिङ लाइन बलियो बनाउन दुई खेलाडीलाई भित्र्याएको हो
सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि दुई खेलाडी अनुबन्ध गरेको छ । सातदोबाटोले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समीर तामाङ र विदेशी खेलाडीमा फाडे फोफानालाई भित्र्याएको सामाजिक सञ्जालबाट जानकारी गराएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग आयोजना गर्दै छ ।
२५ पुसदेखि सुरु हुने राष्ट्रिय लिगमा १६ टोलीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । लिगकै तयारीकै सिलसिलामा सातदोबाटो युथले फिनिसिङ लाइन बलियो बनाउन समीर र फाडेलाई अनुबन्ध गरेको हो । समीरले पछिल्लोपटक सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडबाट प्रतिस्पर्धा गरेका थिए । उनले सन् २०२३ मा भएको साफ यू–१९ र सन् २०२४ मा साफ यू–२० च्याम्पियनसिपमा नेपालबाट प्रतिनिधित्व गरेका थिए ।
समग्रमा उमेर समूहको साफ च्याम्पियनसिपमा उनले तीन गोल गरेका छन् । सन् २०२४ उनले पहिलोपटक राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका थिए । सन् २०२६ को फिफा विश्वकपअन्तर्गत एसियन छनोटमा उनले बहराइनसँगको खेलमा डेब्यु अवसर पाएका थिए । फिफाको मान्यता नपाएको मैत्रीपूर्ण खेलमा उनले मलेसियाविरुद्धको खेलमा एक गोल गरे । नेपाल मलेसियासँग ५–१ ले पराजित भएको खेलमा उनले एक गोल गरेका हुन् । समीरले पछिल्लोपटक घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सातदोबाटोले विदेशी खेलाडीका रूपमा फोफानालाई भित्र्याउँदा आक्रामक पक्ष बलियो हुने जनाएको छ । ‘हामीले राष्ट्रिय लिगका लागि दुई खेलाडी अनुबन्ध गरेका छौँ । दुवै खेलाडी राम्रा छन्,’ क्लबले भनेको छ । नेपालमा हुने फुटबल प्रतियोगितामा फोफाना चर्चित विदेशी खेलाडीमा पर्छन् । नेपालको ‘ए’ डिभिजन लिगमा आबद्ध बलिया क्लबबाट उनले विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
राष्ट्रिय लिगमा १६ क्लब
राष्ट्रिय लिगमा ‘ए’ डिभिजन लिगका १२ र प्रेसिडेन्ट कपबाट छनोट भएका चार क्लबबिच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र एफसी, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो युथ र न्युरोड टिम (एनआरटी) ०७९/८० को ‘ए’ डिभिजन लिगको शीर्ष ६ स्थानमा रहँदै राष्ट्रिय लिगमा छनोट भएका थिए । त्यसपछि त्रिभुवन आर्मी, एपिएफ, संकटा, मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग खेल्न टिम दर्ता गरेका छन् । लिगमा हिमालयन शेर्पा क्लबले राष्ट्रिय लिग नखेल्ने निर्णय लिएको छ । चर्च ब्वाइज च्याम्पियन हुँदा अघिल्लो लिगमा थ्रीस्टार र एफसी खुमलटार रेलिगेसनमा परेका थिए ।