सरकारका प्रतिनिधि पुगे तीन ठुला दलका पार्टी कार्यालय

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण
  • मंगलबार सरकारका प्रतिनिधिले कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर २३ र २४ भदौको आन्दोलनमा भएको क्षतिको जानकारी लिँदै चुनावमा भाग लिन अनुरोध गरेका छन्

दलहरूसँगको दूरी कम गर्दै चुनावको सुनिश्चितता कायम गर्न सरकारका प्रतिनिधि दलहरूको कार्यालय पुगेका छन् । मंगलबार सरकारका प्रतिनिधिले कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर २३ र २४ भदौको आन्दोलनका क्रममा भएको आगजनीको क्षतिको जानकारी लिँदै चुनावमा भाग लिन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको २१ फागुनको निर्वाचनमा प्रमुख दललाई विश्वासमा लिएर सहभागी गराउने प्रयासस्वरूप सरकारले गठन गरेको राजनीतिक संवाद समितिका सदस्यहरू दलका कार्यालय पुगेका हुन् । प्रधानमन्त्री र दलका शीर्ष नेताहरू संवादमा बसेकै दिन मन्त्रीहरू दलका कार्यालय गएका हुन् ।

मन्त्रिपरिषद्ले २९ मंसिरमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि विभिन्न पक्षहरूसँग संवाद गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको समितिलाई विभिन्न राजनीतिक दल र सरोकारवालासँग संवाद गर्ने कार्यादेश छ ।

यसैअन्तर्गत समितिले मंगलबारदेखि संवाद थालेको हो । समिति सुरुमा ११ बजे कांग्रेस कार्यालय सानेपा पुगेर स्थलगत अवलोकन गरेको थियो । त्यसपछि १ बजे एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडा पुगेको थियो ।

समिति सदस्य मन्त्री खरेलले चुनावको वातावरण बनाउन सरकारले सिंहदरबार र बालुवाटारमा मात्र बोलाउने होइन, चुनावको तयारी गर्नुस् भनेर सन्देश दिन पार्टी कार्यालय पुगेको बताए । ‘सरकार इमान्दारी साथ चुनाव गराउन खोजिरहेको छ भन्ने सन्देश हो । हामी चुनाव चाहन्छौँ, तपाईंहरू पनि चुनावको तयारी गर्नुस् भनेर सन्देश दिन उहाँको पार्टी कार्यालयमा सरकार आएको छ । चुनावको वातावरण बनाऊँ, भाग लिनुस् भन्नका लागि सरकार दलको दैलोमा पुगेको हो,’ उनले भने ।

मन्त्री खरेलले तीनै दल चुनावका लागि तयार रहेको बताए । ‘सरकार, दल र जनता अब चुनावको बाटोमा होमिनुपर्छ भन्ने निष्कर्ष तीनवटै पार्टीको भेटघाटमा आएको छ । कांग्रेस र नेकपा तयार छ । एमालेले पनि स्पष्ट शब्दमा वातावरण बनाउनुस् चुनावमा भाग लिन्छौँ भनेको छ,’ उनले भने, ‘सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरण बनाउँछ । प्रचारका लागि नेता तथा कार्यकर्ता जनतालाई कहीँ अवरोध नहुने गरी खुला रूपमा भोट माग्न दिने वातावरण बनाउने प्रतिबद्धता गरेका छौँ । देश नै चुनावका लागि तयार भइसकेपछि दल र नेतालाई सरकारले वातावरण दिन्छ ।’

सरकारी प्रतिनिधिलाई पार्टी कार्यालयमा स्वागत गर्दै नेकपाका संयोजक प्रचण्डले मन्त्री आउनु सकारात्मक कुरा भएको बताए । उनले भने, ‘योचाहिँ चुनाव हुन्छ भन्ने राम्रो संकेत हो ।’

मन्त्री खरेलले पनि नेपाली कम्युनिस्ट पार्टीका संयोजक र पदाधिकारीको तर्फबाट स्पष्ट रूपमा संसद् पुस्र्थापना गर्नुहुँदैन, चुनावमै जानुपर्छ भन्ने कुरा आएको बताए । उच्चस्तरीय समितिले बुधबार ११ बजे जनमत, १ बजे राप्रपा र ३ बजे रास्वपा कार्यालय पुगेर संवाद गर्ने मन्त्री खरेलले बताए । 

सुझावित समाचार