महिला राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आसन्न टी–२० महिला विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । घरेलु टोली नेपालको लक्ष्य नै विजेता बन्ने रहेको उनले बताए ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पाठक र पत्रकारबिच परिचयात्मक कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा पाठकले घरेलु टोलीले विजेता बन्ने लक्ष्यसहित चुनौती पेस गर्ने जनाए ।
‘नेपाल छनोट हुने सम्भावना उच्च छ । मैले नेपाली महिला क्रिकेट टोलीले विगतका वर्षभन्दा अहिले धेरै सुधार गरेको पाएँ,’ पाठकले भने, ‘नेपालमा समर्थकको संख्या धेरै छ । प्रशिक्षकका रूपमा नेपाल शतप्रतिशत छनोट हुने विश्वास व्यक्त गर्छु ।’ पाठक नेपाली महिला क्रिकेटकै पहिलो विदेशी प्रशिक्षक हुन् । क्यानले पाठकसँग दुई वर्षको सम्झौता गरेको छ ।