फुङलिङको बुङकुलुङ धुपौरेमा भालु आतंक, डेढ सातामा आठवटा भेडाबाख्रा मारिसक्याे

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण
फुङलिङको बुङकुलुङ धुपौरेमा भालु आतंक, डेढ सातामा आठवटा भेडाबाख्रा मारिसक्याे

भालुलाई नियन्त्रणमा लिन स्थानीयले बनाएको फलामको पासो ।

फुङलिङ नगरपालिका–९, हाङ्देवास्थित बुङकुलुङ धुपौरेका बासिन्दा केही समययता भालुको डरले रातभर जाग्राम बस्न थालेका छन्। डेढ सातायता भालुले घरगोठमा पसेर भेडा–बाख्रा खान थालेपछि भेडा-बाख्रा जोगाउन उनीहरू रातभर जाग्राम बस्न थालेका हुन्। 

साँझ पर्नासाथ खोरतिर कान ठाडो पारेर बस्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। उनीहरूले भालु नियन्त्रणमा लिन फलामे खोरसमेत थापेका छन्।

डिभिजन वन कार्यालय ताप्लेजुङको अगुवाइमा मंगलबार भालु नियन्त्रण गर्ने खोर स्थापना गरिएको हो। स्थानीय नारायणप्रसाद भण्डारीको बाख्राको खोरनजिकै फलामे पासो राखिएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिए। एउटै स्थानमा भालु बारम्बार फर्किएर क्षति पुर्याउने प्रवृत्ति देखिएपछि खोर राख्ने निर्णय गरेको ओझाको भनाइ छ। 

गत २८ मंसिरदेखि हालसम्म भालुले आठवटा भेडाबाख्रा मारिसकेको छ भने तीनवटालाई सख्त घाइते बनाएको डिभिजन वन कार्यालयले जनाएको छ। हिजो सोमबार राति मात्रै दुई घरका बाख्रा भालुले खाएको र आक्रमण गरेको छ। भालुको गतिविधिले पशुचौपाया मात्र होइन, मानवीय सुरक्षामाथि समेत खतरा बढेकोमा स्थानीय त्रसित छन्। यही अवस्थालाई मध्यनजर गर्दै निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादव, जनप्रतिनिधि, फेकोफन, नेपाल प्रहरीलगायतको टोलीले स्थलगत अनुगमनसमेत गरेको छ।

वडा नम्बर ९ का वडाध्यक्ष लक्षुमन गुरुङले जंगल जाने, घाँस–दाउरा गर्ने र साँझपख हिँडडुल गर्दा विशेष सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन्।

बुङकुलुङ धुपौरेका लागि अहिले भालु केवल जंगली जनावर होइन, दैनिक जीवनको सबैभन्दा ठुलो चिन्ता बनेको स्थानीयको गुनासो छ। 

सुझावित समाचार