फलफूल तथा तरकारीमा जथाभावी विषादी प्रयोगप्रति विज्ञहरूको चिन्ता

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

कृषि उत्पादन बढाउन अनावश्यक रुपमा हुने किटनाशक विषादीको प्रयोगप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नियामक निकाय कमजोर बन्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै उनीहरूले चिन्ता गरेका छन् । 

प्रर्याप्त सूचना अभावमा कतिपय किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् । जसकाकारण यसले गम्भीर र घातक रोग निम्त्याउने गरेको भन्दै यसतर्फ सरोकारवाला निकायले विशेष चासो दिनुपर्नेमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा जोड पनि दिइएको छ । कीरा, रोग र झारपातबाट बाली जोगाउन र छोटो समयमै लाभ दिने भए पनि यसको अस्वभाविक प्रयोगले खतरनाक रोगहरू लाग्न थालेकोले जैविक विषादीको प्रयोगलाई बढाउनुपर्ने सुझाव विभिन्न क्षेत्रका विज्ञहरूको छ ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव—०८२ को अवसरमा आयोजित नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव विषयक कार्याशालामा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । 

कार्यक्रममा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन काठमाडाैँका वरिष्ठ बाली संरक्षक अधिकृत मनोज पोखरेल, कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत मिलन गैरे, राष्ट्रिय गहु“बाली अनुसन्धान भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले यस विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका प्रमुख रुक्मागत पाठक, पैंचो पसल प्रालिका कार्यकारी प्रमुख केशव न्यौपाने, लुम्बिनी कृषि थोक बजार प्रालिका कार्यकारी प्रमुख रामबहादुर खत्री, पत्रकार दामोदर खनालले टिप्पणी राखेका थिए ।  कार्यक्रममा अनुसन्धानकर्ता शारदा पाण्डले परम्परागत किटनाशकसम्बन्धमा अनुसन्धानसहितको धारणा प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठकले विषादीको व्यापार कम गर्न र उपभोक्ताको सचेतना बढाउने काममा साझेदारी गर्न सबैलाई आग्रह गरे । 

प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमी र कृषि उपजका स्टल रहेको संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले जानकारी दिए । 

सुझावित समाचार