रामेछापमा ४२ उद्योग दर्ता हुँदा २४ वटा खारेज

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

रामेछापमा पछिल्लो समय उद्योग–व्यवसाय सञ्चालनका लागि दर्ता हुने र खारेज गर्ने व्यवसायीको संख्या बढ्दो क्रममा देखिएको छ।

चालू आर्थिक वर्षको चार महिनामा उद्योग तथा वाणिज्य कार्यालय रामेछापमा उद्योगतर्फ ३२ वटा व्यवसाय दर्ता हुँदा १४ वटा खारेज भएका छन्। वाणिज्यतर्फ भने १० वटा व्यवसाय दर्ता भएकामा खारेज हुने उद्योगको संख्या पनि त्यति नै रहेको कार्यालयका प्रमुख खेमराज अधिकारीले जानकारी दिए। यो अवधिमा कुल ४२ व्यवसाय दर्ता हुँदा २४ वटा बन्द भएका छन्।

उनले भने, ‘पछिल्लो समय रामेछापमा उद्योग दर्ता गर्ने र खारेज गर्नेको संख्या बराबरजस्तै छ।’ त्यसो त सरकारी अनुदान र ऋणका लागि पनि उद्योग दर्ता हुने गरेका छन्। वैदेशिक शिक्षा र रोजगारीका लागि बैंक ‘इस्टेटमेन्ट’ देखाउनका लागि पनि उद्योग दर्ता गर्ने क्रम बढ्दो छ। ती व्यक्तिहरू विदेश गएपछि दर्ता भएका त्यस्ता उद्योग खारेज गर्ने गरेकाले दर्ता र खारेजी बराबरजस्तै देखिएको प्रमुख अधिकारीले बताए। 

सहुलियत ऋणका लागि पनि अनिवार्य रूपमा व्यवसाय गरेको हुनैपर्ने प्रावधानका कारण बाध्य भएर उद्योग दर्ता गर्नुपरेको मन्थली नगरपालिका– १३, फुलासीकी एक स्थानीयले बताइन्। उनले भनिन्, ‘वैदेशिक रोजगारीका लागि छोरो विदेश पठाउनु छ। आफूसँग पैसा छैन। त्यसैले बाध्य भएर उद्योग दर्ता गरेर काम फत्ते भएपछि उद्योग बन्द गरेका छौँ।’ उद्योग रहिरहे वार्षिक रूपमा अडिट र नवीकरण गर्नुपर्ने भएकाले कागजी उद्योग बन्द गरेको उनको भनाइ छ।

पछिल्लो समय रामेछापमा कोभिडको महामारीपछि धेरै व्यवसायी पलाएन भएका छन्। कोभिडको भुमरीमा परेका धेरै व्यवसायी घर न घाटको अवस्थामा पुगे। पहिला व्यवसाय गर्दै आएका व्यवसायी आर्थिक घाटाका कारण पुनः व्यवसायमा फर्कन सकेनन्।

प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ अनुसार प्रदेश सरकारले पाँच लाख पुँजीसम्मको व्यवसाय दर्ता गर्न स्थानीय तहलाई नै अनुमति दिएको छ। जसकारण पाँच लाखसम्मको व्यवसाय दर्ता गर्ने व्यवसायीहरू स्थानीय तहमा नै जाने गरेका छन्।

सुझावित समाचार