बंगलादेशमा अर्का विद्यार्थी नेतामाथि गोली प्रहार

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

बंगलादेशमा अर्का विद्यार्थी नेतामाथि पनि गोली प्रहार भएको छ । बिहीबार इन्कलाब मञ्चका प्रवक्ता उस्मान हादीको हत्यालाई लिएर देशभर हिंसा मच्चिरहेका वेला विद्यार्थी नेतृत्वको राष्ट्रिय नागरिक पार्टी (एनसिपी) का एक वरिष्ठ नेतामाथि अज्ञात बन्दुकधारीले गोली हानेका हुन् ।

बंगलादेशी सञ्चार माध्यमका अनुसार एनसिपीको श्रम संगठनका केन्द्रीय नेता मुहम्मद मोतालेब सिकदरलाई खुलना जिल्लामा आक्रमणकारीले टाउकोमा गोली प्रहार गरेका हुन् । सिकदरलाई सोमबार बिहान ११: ४५ बजे शहरको सोनाडांगा क्षेत्रको एक घरनजिकै आक्रमण गरिएको बंगलादेशको दैनिक प्रोथोम आलोले जनाएको छ । सिकदर खुलनामा पार्टीको डिभिजनल श्रमिक र्याली आयोजनाको तयारी गर्दै थिए । उनको हाल राजधानी ढाकाको एक अस्पतालमा उपचार भइरहेको छ । 

कट्टरपन्थी नेता सरिफ उस्मान हादीको मृत्युपछि गत सातादेखि बंगलादेशमा देशभर हिंसात्मक प्रदर्शन भएका छन् । उनको हत्याका दोषीलाई तत्काल पक्राउ गर्न शनिबार इन्कलाब मञ्चले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको थियो । गत वर्ष सेख हसिना वाजेदलाई सत्ताच्युत गर्ने आन्दोलनमा यो मञ्चले उल्लेख्य भूमिका खेलेको थियो ।

भारतविरोधी कडा अभिव्यक्तिका लागि परिचित ३२ वर्षीय हादीले बंगलादेशको २०२४ को विद्यार्थी विद्रोहको समयका उदीयमान नेता थिए ।  डिसेम्बर १२ मा ढाकामा आगामी चुनावको प्रचार अभियानबाट निस्कने क्रममा नकाबधारी आक्रमणकारीले उनलाई गोली हानेका थिए । गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुरको अस्पतालमा हेलिकोप्टरबाट लगिएको थियो, जहाँ उनको डिसेम्बर १८ मा मृत्यु भएको थियो । 

ताजा हिंसासँगै जातीय द्वन्द्वको खतरा बढेको छ । केही स्थानमा अल्पसंख्यक हिन्दुमाथि आक्रमण बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । निर्वाचनका पूर्वसन्ध्यामा हिंसा बढेसँग मतदान हुनेमा आशंका बढेको छ । बंगलादेशमा १२ फेब्रुअरीका लागि निर्वाचनको मिति तोकिएको छ ।

सुझावित समाचार