दलहरूले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता दोहोर्याएका छन् । तर, शान्तिसुरक्षाको सुनिश्चितता खोजेका छन् । दलका प्रतिनिधिले भयरहित वातावरण बनाउन सरकारलाई सुझाब दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा सरकार, निर्वाचन आयोग, दलहरू, जेन–जी र नागरिक प्रतिनिधिहरूको सर्वपक्षीय छलफलमा शान्तिसुरक्षाको विषय प्राथमिकताका साथ उठेको हो ।
छलफलमा सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन संशोधनको तयारीका सन्दर्भमा पनि जानकारी गराएको थियो । जसलाई प्रमुख दलहरूले स्वीकार गरेनन् । उनीहरूले निर्वाचनमा केन्द्रित हुन र अध्यादेश ल्याउनेतिर नलाग्न अनुरोध गरे । अन्तरजिल्ला, विदेशमा रहेका नेपालीलाई मतदान र नो भोट अहिले सम्भव नभएको र अर्काे चुनावमा गर्ने गरी सहमति गर्न सकिने उनीहरूको भनाइ थियो । दलका प्रतिनिधिले नेताहरूलाई स्थानहद तोकेर कस्तो चुनाव गराउन खोजेको भनेर पनि प्रश्न गरेका थिए ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनविना देशले निकास नपाउने भन्दै २१ फागुनको भन्दा कुनै तलमाथि नगरीकन निर्वाचन सम्पन्न गर्न आग्रह गरे । ‘कांग्रेसले निर्वाचनका लागि धेरै हदसम्म आन्तरिक तयारी गरिसकेका छौँ । तहगत आधारमा उम्मेदवार सिफारिस गरिसकेका छौँ,’ उनले भने । तर, केही नेताहरूलाई स्थानहद तोकिँदा निर्वाचनको वातावरण नबन्ने उनको भनाइ थियो । ‘सारा जनता निर्वाचन चाहिरहेका छन् । निकास नै यही हो । तर, केही प्रावधान नसच्याइकन, सहज नगरीकन, सुरक्षा, भयरहित वातावरण नभईकन कसरी हुन्छ ?
प्रधानमन्त्रीको नेचरले पनि भन्छ, निर्वाचन गराए छोड्नुहुन्छ । तर, सबैलाई एक–अर्कासँग भय छ । भयमुक्त वातावरणमा मनोनयन र भोट हाल्ने वातावरण सरकारले बनाउनुपर्यो,’ उनले भने । यादवले समानुपातिक समय १३ र १४ गते अपुग भएकाले तीन–चार दिन हेरफेर गरिदिनुपर्ने माग गरे । सहमहामन्त्री यादवले निर्वाचनका लागि दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने पनि बताए । ‘सबै मिलेर आगामी निर्वाचन सफल पारौँ । कसैले कसैलाई निषेध नगरौँ । भयको वातावरण नबनाऔँ । हामी सहयोग गर्न तयार छौँ । तर, सर्त सुरक्षाको हो । निष्पक्ष चुनाव होस्,’ उनले भने ।
एमाले सचिव महेश बस्नेतले पनि सुरक्षाकै प्रश्न सोधे । ‘२३ भदौका सहिद र घाइते परिवारले न्याय नपाएको र २४ गते राज्यका ध्वस्त भएका संरचना बनाउने कुरामा सरकार कतिको लागेको छ ?’ उनले सोधे, ‘म स्वयं पनि पीडित हुँ । मेरो घर आगजनी भएर भाडाको घरमा बसिरहेको छु । राज्यका सम्पत्ति र मेरा घर बनाएर हामी चुनावमा जाने हो कि मेरो जलेको घर हेर्दै मैलै घरदैलो कार्यक्रम गर्नुपर्ने हो ? लुटेका हतियार के कस्ता छन् ? भागेको कैदीहरूको अवस्था के छ ? कता छन् ?’
बस्नेतले आफूहरू निर्वाचनकै पक्षमा भएको बताए । ‘सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौँ । आजको वातावरण र संसद् पुनस्र्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वाेच्च अदालतमा रिट हालिरहेको अवस्थामा २१ गते चुनाव हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने । बस्नेतले प्रधानमन्त्रीलाई वन टु वन वार्ता गर्न सुझाए । ‘ओपन च्यानलबाट छलफल गर्ने वातावरण वान टु वान गर्दा राम्रो हुन्छ । यस्ता फोरममा औपचारिक कुरा न हुन्छ । एउटा औपचारिक निर्णय गर्नुअघि धेरै अनौपचारिक निर्णय गरेर धेरै होमवर्क गरेपछि मात्र निर्वाचनको वातावारण बनाउन सक्छौँ । यसतर्फ सरकारको ध्यान गएको छैन,’ उनले भने ।
नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले आफूहरू निर्वाचनमा भाग लिएर सम्पन्न गर्न सघाउन तयार रहेको बताए । निष्पक्ष, भयरहित र शान्तिपूर्वक निर्वाचन सम्पन्न हुनुपर्ने र त्यो वातावरण बनाउने काम सरकारको भएको बताए । ‘मन्त्रीको बोलीले निर्वाचन भाँडिदै छ । मुख बन्द गरेर काम गर्नुस् । धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । राष्ट्रले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी दिएको छ । होइन भने छोड्नुस्,’ उनले भने ।
सेनाले मात्रै शान्तिसुरक्षा नहुने र चुनाव गराउने प्रहरी नै भएकाले व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ थियो । लुटिएका हतियार, मतदानस्थलको सुरक्षामा पनि ध्यान दिन उनले आग्रह गरे । पाण्डेले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनु जायज भए पनि अहिले सम्भव नभएको बताए । ‘हामीले गरेको तयारीले पुग्छजस्तो लाग्दैन । पुग्ने कुरा, गर्न सक्ने कुरा गर्नुस् । अध्यादेश ल्याएर २१ फागुन टार्ने काम नगर्नुस् । तपाईंको तयारी पुग्दैन । नपुग्ने कुरा नगरौँ,’ उनले भने । निर्वाचनको वातावरण बनाउन मूल राजनीतिक दललाई एक्लाएक्लै कुरा गर्न उनले आग्रह गरे ।
रास्वपा नेता शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मतदान र अन्तरजिल्ला मतदान र नो भोटलाई राजनीतिक मुद्दा बनाएको भन्दै कानुनको सुधारको विषय बनाएको स्वागत गरे । सर्वाेच्चले आदेश गरेको १० वर्षमा सत्ता सञ्चालनमा रहेका दलहरूले पालना नगरेको कुरालाई नागरिक सरकारले कार्यान्वयन गर्न खोज्दा किन समर्थन नगर्ने भनेर प्रश्न गरे ।
व्यावहारिक रूपमा सम्भव नहुने विषयमा कानुनी रूपमा बाटो खोलेर जान अध्यादेश ल्याउनुपर्ने र त्यसलाई स्वामित्व लिने गरी राजनीतिक सहमति गरेर जानुपर्ने उनको भनाइ थियो । चुनावमा शान्तिसुरक्षा जरुरी रहेको, भयरहित वातावरणमा आमसहभागिता, उम्मेदवारको सुरक्षाको ग्यारेन्टी, मतदाताको सुरक्षा आवश्यक रहेकोमा उनले जोड दिए ।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले विदेशमा बस्ने नेपालीको भोटलाई सुनिश्चित गर्नुपर्ने बताए । जेन–जी अगुवा भावना राउत र सागर ढकालले अन्तरजिल्ला, विदेशमा रहेका नेपाली र नो भोटमा स्पष्ट निर्णय दिन अनुरोध गरे । राउतले अन्तरजिल्ला मतदान लागू गर्न माग गरिन् । ‘सक्दैनौँ भन्ने खालको कुरा आयो । नसक्ने भन्दा पनि इच्छाशक्ति नभएको हो । यो सकिँदैन, हुँदैन नभन्नुस् । हामीलाई फुटबल बनाइएको छ । प्रधानमन्त्रीले गृहमन्त्री गृहमन्त्रीले आयोग, आयोगले राजनीतिक सहमति छैन भन्छ, दलहरूको सहमति छ कि छैन ? छ भने छ भन्नुस्, छैन भने छैन भन्नुस्,’ उनले सोधिन् ।
आप्रवासी अभियन्ता सरु जोशीले आप्रवासी श्रमिक नागरिक पनि सम्प्रभु भएकाले मताधिकारको सुनिश्चित हुनुपर्ने बताइन् । नागरिक समाजका अगुवा विद्याधर मल्लिकले कर्मचारी र निर्वाचन आयोगलाई स्रोत दिए धेरै कुरा सम्भव रहेको बताए । दलहरूले जेन–जीको भावना आत्मसात् गरेर जानुपर्नेमा जोड दिँदै अन्तरजिल्ला भोटिङ कम्तीमा समानुपातिकतर्फ गर्न सकिने बताए ।
सुशीला कार्की,प्रधानमन्त्री
निर्वाचन हाम्रा लागि कुनै एउटा संकटको घडी होइन । खुसीको घडी हो, उत्साह हो, एउटा परिवर्तनको मार्ग हो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुन सक्छौँ, न त्यो सफलताको मार्ग नै हो । जनताले परिवर्तन खोजेको छ भने राजनीतिक दलले पनि सच्चिनुपर्दछ, सबै निर्वाचनमा आइदिनुहोस् ।