ओस्मान हादीको हत्यापछि हत्याराहरूले बंगलादेशमा तीन अन्तरसम्बन्धित लक्ष्य हासिल गरेका छन् । पहिलो, तिनले जुलाई विद्रोहबाट उदाएका होनहार, सम्झौताहीन र बेदाग दियोलाई सधैँका लागि निभाउन सफल भए । जुलाई क्रान्तिबाट उदाएका नेतामध्ये धेरै समयक्रममा कोही सम्झौतामा बिकेको र कोही भ्रष्ट भएको हामी सबैले देखेकै हौँ । तर, ओस्मान भने आफ्नो आदर्शमा अडिग रहेर आफ्ना साथीजसरी राजनीतिक विस्मृतिबाट हराएका थिएनन् ।
उनी नयाँ बंगलादेशका उदीयमान युवा नेताका रूपमा दरिएका थिए । उनी ठ्याक्कै त्यस्तै नेता साबित भएका थिए, जसले पुरानो व्यवस्थालाई खतरा प्रदान गर्न सक्थे । यस्तोमा नयाँ व्यवस्थाका विरोधीले उनलाई हटाउन आवश्यक ठाने ।उनको हत्यामार्फत हत्याराले हासिल गरेको दोस्रो लक्ष्य जुलाई विद्रोहका शत्रुहरू नामेट नभएको र उनीहरू अझै प्रभावशाली रहेको देखाउन सक्नु हो । क्रान्तिको १८ महिनापछि पनि उनीहरूले एकजना उदाउँदा नेताको हत्या गरी उम्किएर डरको माहोल सिर्जना गरेका छन् ।
हत्याराहरूले हासिल गरेको तेस्रो लक्ष्य भने गम्भीर छ । हादीको हत्यापछि देशका प्रमुख पत्रिका डेली स्टार र प्रोथोम आलोका कार्यालय जलाइए । यो पनि उनका हत्याराले देख्न चाहेकै प्रतिक्रिया थियो । निश्चित रूपमा हादीको हत्याले निम्त्याएको क्रोध बुझ्न सकिन्छ । दुःख, क्रोध र निराशाको सम्मिश्रणले उनको हत्याविरुद्ध केही न केही गर्नुपर्छ भन्ने बलियो इच्छा जागेको थियो । सम्भवतः भिड नेताका हत्या सह्य छैन र हत्याराले त्यसको दुष्परिणाम भोग्नुपर्छ भन्ने सन्देश दिन चाहन्थ्यो । तर, दुई पत्रिकाका कार्यालय जलाएर तिनले पूर्णतया फरक सन्देश प्रवाहित गरे । यसले हत्याराहरूकै स्वार्थपूर्ति गर्यो ।
हादीको हत्यापछि देशका प्रमुख पत्रिकाका कार्यालय जलाइए, उनका हत्याराले पनि यस्तै प्रतिक्रिया चाहेका थिए
भिडले मिडिया कार्यालयमा गरेको आक्रमणले ‘बंगलादेशमा भिडतन्त्र छ र यो असुरक्षित देशमा सरकारले आफ्नै जनताको सुरक्षासमेत गर्न सक्दैन’ भन्ने सन्देश अहिले विश्वव्यापी बनेको छ । अचानक भिड आवेशमा आउँदा घटेको घटनाले बंगलादेशमा जुनसुकै वेला जे पनि हुन सक्छ र कोही पनि सुरक्षित छैनन् भन्ने हल्लालाई बल प्रदान गरेको छ । हादीका हत्याराले आखिर त्यही नै चाहेका थिए ।
बंगलादेशमा १२ फेब्रुअरीका लागि निर्वाचन मिति तोकिएको छ । चुनाव हुन नदिन र यो देशलाई आतंकवाद र अस्थिरताको केन्द्रका रूपमा चित्रण गर्न एक समूह पहिलेदेखि नै लागिरहेकै छ । हसिना सत्ताच्युत भएदेखि हसिना समर्थक भारतीय मिडिया तथा सामाजिक सञ्जालले विगत अठार महिनादेखि यही भाष्यलाई जोडतोडसाथ स्थापित गर्ने प्रयास गरिरहेका छन् । हसिना भागेको दिनदेखि नै भारतीय मिडिया र सामाजिक सञ्जालले बंगलादेश अराजकता र हिंसाको केन्द्र बनेको भन्दै आएका छन् । भलै यहाँको जमिनको वास्तविकता भने बिलकुल फरक किन नहोस् ।
आन्दोलनसामु घुँडा टेकेर हसिना पदच्युत भएपछिका केही दिन पूरै प्रहरी बलले सेवा बहिष्कार गरेको र राष्ट्रको प्रशासन लथालिंग भएको थियो । तर, अन्तरिम सरकार आएपछि बिस्तारै देशको अवस्था सामान्य बन्यो । तर, यो कुरा बाहिर राम्ररी जान सकेको थिएन । अहिले एक्कासि नकारात्मक सन्देश गयो ।
बंगलादेशमा एक हप्ताअघिसम्म पनि १२ फेब्रुअरीका लागि तोकिएको चुनाव हुनेमा आशंका थिएन । पूरै देश चुनावी मार्गमा अघि बढिरहेजस्तो देखिन्थ्यो । अन्तरिम सरकार चुनाव गराउने आफ्नो मुख्य कार्यभारमा सफल हुनेमा शंका गर्नुपर्ने कारण थिएन । तर, अहिले सबै कुरा भ्रमजस्तो देखिएको छ । र, खासमा हादीका हत्याराहरूको मुख्य उद्देश्य यही नै थियो ।
यदि बंगलादेशीहरू हादीको सम्झनालाई सम्मान गर्न चाहन्छन् भने १२ फेब्रुअरीमा हुने चुनावलाई जसरी पनि सफल बनाउन लाग्नुपर्छ । चुनावमाथि शंका उत्पन्न हुने अवस्था आए फाइदा अबामी लिग र समाजमा अतिवादी विचार फैलाइरहेका दक्षिणपन्थी दललाई हुनेछ । संक्रमणकाल लम्बिँदै जाँदा अहिले नै समाजमा चुनाव वा लोकतान्त्रिक माध्यमबाट सत्तामा आउन नसक्ने शक्तिको मनोबल बढ्दै गएको देखिएकै छ ।
चुनावमा ढिलाइ हुनु भनेको थप अस्थिरता, अत्याचारका लागि ठाउँ दिनु हो । यसले समाजमा हिंसाका लागि थप अवसर प्रदान गर्छ । उसै पनि बंगलादेश विगत डेढ वर्षदेखि निर्वाचित सरकारविनै चलिरहेको छ । चुनावलाई थप लम्ब्याउँदा दीर्घकालीन रूपमा लोकतान्त्रिक परम्परामा धक्का पुग्छ ।
सन् १९७१ मा रक्तपातपूर्ण संघर्षमार्फत स्वतन्त्रता हासिल गरेको र सन् २०२४ मा जनक्रान्तिमार्फत एक तानाशाहलाई भगाउन सफल भएको बंगलादेशले निर्वाचन गर्न नसक्ने होइन । सबै बंगलादेशीहरू आफ्ना मतभिन्नतालाई बिर्सिएर हातमा हात मिलाएर अघि बढे यो सम्भव छ । त्यसले मात्र सहिदहरूले चाहेजस्तो सुन्दर भविष्य निर्माणको बाटो खुल्नेछ । तब मात्र अहिले सहिदमा लामबद्ध भएका हादीको मृत्युमार्फत बंगलादेशलाई विभाजित गर्ने शत्रुको लक्ष्य विफल हुन्छ । यसले मात्र उनीलगायत तमाम सहिदको सम्मान गरिएको ठहरिनेछ ।
(सोभन बंगलादेशी अंग्रेजी न्युज पोर्टल ‘काउन्टरपोइन्ट’का सम्पादक हुन्) द वायरबाट