११ पुसमा सुदूरपश्चिम प्रदेश सभा बैठक

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभा बैठक ११ पुस बस्ने भएको छ । सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठकपछि सभामुख भीमबहादुर भण्डारीले ११ पुस दिउँसो २ बजे बैठकको मिति तय गरेका प्रदेश सभा सचिवालयले जनाएको छ । 

कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले लामो समयदेखि बस्न नसकेको प्रदेश सभा बैठक बोलाउने सहमति बनेको बताए । बैठकको एजेन्डा भने परामर्श समितिको अर्को बैठकले तय गर्ने उनले जानकारी दिए । 

एजेन्डा तय गर्नुअघि परामर्श समितिले सदनमा विचाराधीन विधेयक कसरी अगाडि बढाउने भनेर मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गर्ने भएको छ । ‘सभामुखसहित परामर्श समितिका सदस्यहरू मुख्यमन्त्रीसँग भोलि अनौपचारिक छलफल गर्छौँ,’ धामीले भने, ‘छलफलपछि बैठकका एजेन्डा तय हुन्छन् ।’ 

जेन–जी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सभा बैठक बस्न सकेको छैन । आन्दोलनका वेला गरिएको आगजनीका कारण प्रदेश सभा भवनमा क्षति पुगेपछि बैठक बस्न नसकेको हो । आगजनीबाट प्रदेश सभा बैठक कक्ष, सचिवालय, संसदीय दलका कार्यालयहरू जलेर नष्ट भएका छन् । 

सुझावित समाचार