श्रीमतीलाई जापान पठाउँदा लागेको ऋणबाट उन्मुक्ति पाउन एक युवकले ललितपुरमा जेठानसहित दुईजनाको हत्या गरेका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका– ४, कोटगाउँ घर भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका– ७ चाँगाथली बस्ने २१ वर्षीय देवराज ढुंगेल (रमेश)ले हत्या गरेर शव नै गायब बनाउने प्रयास गरेका हुन्।
प्रहरीका अनुसार उनले गत २४ मंसिरमा जेठान सिन्धुलीको गोलान्जाेर गाउँपालिका– ५ का २५ वर्षीय केशवराज हायु (सुनील)को हत्या गरेका थिए। त्यसको भोलिपल्ट साथी भोजपुरको अरुण गाउँपालिका– ३ घर भएका २१ वर्षीय पारुहाङ राईको पनि हत्या गरेका थिए। हत्यामा सघाउने २० वर्षीय जयराम अधिकारीसहित ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार ढुंगेलले श्रीमतीलाई करिब पाँच महिनाअघि जापान पठाएका थिए। श्रीमती जापान पठाउँदा जेठान केशवराजसँग ६ लाख तथा अर्का साथी पारुहाङसँग पाँच लाख ऋण लिएका थिए। उनीहरूको हत्या गरेपछि ऋण तिर्न नपर्ने भएकाले योजना बनाएर हत्या गरेको प्रहरीले जनाएको छ।
केशवराजलाई हत्या गरेर ललितपुरको ज्यामिरेकोटमा फालेका थिए भने भक्तपुरको देउराली भञ्ज्याङको झाडीमा फालिएको थियो।
केशवराजको शव पछि लुभुस्थित सानुकान्छा श्रेष्ठको तरकारीबारीको कुनामा रहेको इनारमा फालिएको थियो। सात दिनपछि प्रहरीले शव भेटेको थियो। एसपी काजीकुमार आचार्य भन्छन्, ‘मोटरसाइकलमा राखेर शव उनीहरूले त्यहाँ लगेर फालेका थिए।’
केशवराजलाई उनीहरूलाई डाँडातिर घुम्न जाने र उतै मदिरा पिउने भनेर लगेका थिए। त्यही क्रममा ह्यामरले हानेर उनले हत्या गरेका हुन्।
भोलिपल्ट त्यसैगरी पारुहाङलाई भक्तपुरको सूर्यविनायक– ७ देउराली भञ्ज्याङमा लगेर त्यसैगरी हम्मरले टाउकोमा हानेर हत्या गरी शव झारीमा फालेका थिए।
घटनाको करिब दुई सातापछि अभियुक्त पक्राउ परेका हुन् । सुरुमा प्रहरीले केशवराजको हत्याको अनुसन्धान गरेको थियो। जस क्रममा देवराजमाथि सोध्ने क्रममा उनले केही जानकारी नभएको बताउँथे। पछि प्रहरीले उनको डेरामा खानतलासी लिँदा रगत लागेको कपडादेखि हम्मरसम्म बरामद गरेको थियो। थप सोधपुछ गर्दा उनले हत्या स्वीकार गरेका हुन्।
हत्यामा सघाउने उनका साथी जयराज सिन्धुली गइसकेका थिए। उनलाई आइतबार सिन्धुलीबाट प्रहरीले पक्राउ गरेर ल्याएको हो । जयराजलाई पक्राउ गरेपछि उनले पारुहाङको शव देखाइदिएका हुन्।
जयराम गाउँमै बस्दथे । दुई लाख रुपैयाँ दिने सर्तमा देवराजले गाउँबाट बोलाएर हत्या र शव व्यवस्थापनमा उनलाई लगाएका थिए।
सामान्य पैसाका लागि यसरी दुई–दुईजनाको हत्या भएको घटना अनौठो खालको भएको प्रहरी अधिकारी बताउँछन् । देवराज र केशवराजले संयुक्त रूपमा कृषि फार्मसमेत चलाउँदै आएका थिए।