हिमालय क्रिकेट एकेडेमी कप २०८२, यू–१६ अन्तरविद्यालय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमन्ड सेकेन्डरी स्कुलले हात पारेको छ।
हिमालय क्रिकेट एकेडेमी प्रालिको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा जनप्रकाश माविलाई दुई विकेटले पराजित गर्दै डायमन्डले उपाधि जितेको हो।
टस जितेर पहिलो ब्याटिङ रोजेको जनप्रकाशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रन जोडेको थियो। जवाफी ब्याटिङका लागि मैदान उत्रेको डायमन्डले १९ ओभरमा आठ विकेट गुमाएर ११६ रन बनउँदै लक्ष्य पूरा गर्यो।
जनप्रकाशका लागि कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन जोडे। डायमन्डका लागि सुशान्त तिवारीले ३३ बलमा ४१ रन र सन्दिर तिमिल्सिनाले १५ बलमा १७ रन बनाउन सफल भए। डायमन्डका भीमबहादुर विकले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिँदा जनप्रकाशका रोहित किसानले समान चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए।
डायमन्डका सुशान्त तिवारी प्लेयर अफ दी म्याच, प्रतिभा सेकेन्डरीका साहबुद्धिन अनसारी बेस्ट बलर, डायमन्डका सुशांक तिवारी सर्वोत्कृष्ट खेलाडी, रत्नज्योतिका प्रितिश गुरुङ उदीयमान खेलाडी, हिमालय बोर्डिङका आयुष पनेरू बेस्ट ब्याटर घोषित भएका हिमालय क्रिकेट एकेडेमी प्रालिका अध्यक्ष शक्ति बरालले जानकारी दिए।