पाकिस्तानले युएईमा भएको एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा पाकिस्तानले भारतमाथि १९१ रनको सानदार जित निकाल्दै एसिया कप हात पारेको हो । पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर ३४७ रन बनाएको थियो । प्रत्युत्तरमा भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो । भारतका लागि ओपनर वैभव सूर्यवंशीले १० बलमा २६ रन बनाए । बलिङमा पाकिस्तानका अली राजाले तीन विकेट लिए । मोहमद सायान, अब्दुल सुभन र हुजैफा हसनले समान दुई विकेट हात पारे ।
पाकिस्तानको ब्याटिङमा समीर मिन्हासले शतकीय इनिङ्स खेलेका थिए । उनले ११३ बलमा १७ चौका र नौ छक्काको मद्दतमा १७२ रन जोडे । अहमद हुसेनले ७२ बलमा ५६ रन बनाए । पाकिस्तानको ब्याटिङमा उस्मान खान र समिरबिच दोस्रो विकेटका लागि ९२ रनको साझेदारी भएको थियो । समिरले अहमद हुसेनसँग तेस्रो विकेटका लागि १३७ रन जोडेका थिए । उस्मानले ३५ रन बनाएका थिए । बलिङमा भारतका दीपेश देवेन्धरनले तीन विकेट लिए । हेलिन पटेल र खिलान पटेलको नाममा समान दुई विकेट रह्यो ।
यसअघि सेमिफाइनलमा भारतले श्रीलंकालाई हराएको थियो । पाकिस्तानले बंगलादेशलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो । नेपाल समूह ‘बी’मा रहेको थियो । नेपालले बंगलादेश, श्रीलंका र अफगानिस्तानविरुद्धका तीनै खेलमा हारको सामना गरेको थियो ।