पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्कने भएकी छिन् । जेन–जी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो ।
गत २४ भदौमा खनालदम्पती निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि संक्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।
एपोलो अस्पतालमा भर्ना भएपछि लामो समय आइसियूमा राखेर उपचार गरिएको थियो । संक्रमण नियन्त्रणमा ल्याउन चिकित्सकहरूले कडा प्रयास गर्नुपरेको र अन्ततः संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो । त्यसपछि क्रमशः अवस्था सुधार हुँदै गएपछि उनलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पतालबाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् । खनालका अनुसार अहिले चित्रकार पूर्ण रूपमा पहिलेकै जस्तो तन्दुरुस्त नभए पनि जीवनरक्षा भएको छ ।