अंश नदिएको भन्दै नातिले गरे हजुरामाको हत्या

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

अंश नदिएको भन्दै एक नातिले धारिलो हतियार प्रहार गरी आफ्नै हजुरामाको हत्या गरेका छन्। पोखरा महानगरपालिका–३१, बाँसपानी बस्ने ७५ वर्षीया दालकुमारी परियारलाई २२ वर्षीय नाति आशिष परियारले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता/सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार हत्यापछि नाति हरिबहादुरले हजुरआमाको कान काटेर कानमा लगाएको गरगहना लुटेर भागेका थिए। वृद्ध महिलाको हत्यासँगै लगाएको गहनासमेत लुटेर हत्यारा फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको सूक्ष्म अनुसन्धानपछि घटनामा संलग्न उनकै नाति रहेको भन्ने यकिन गरेपछि आशिषलाई पक्राउ गरेको हो।

आशिषलाई प्रहरीले पोखरा–१०, बुद्धचोकबाट कानमा लगाउने रिङ दुई थान, सानो मुन्द्रा चार थान गरी ७२ लाल  सुनका गरगहनासहित पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार आशिषका बाबु हाल रोजगारीका क्रममा विदेशमा रहेका छन्। बुबा विदेशमा रहेकाले उनले सधैँ हजुरआमासँग आफ्नो भागमा पर्ने अंश चाहियो भन्दै झगडा गर्ने गरेका थिए।

अंश माग्दै गर्दा केही समयदेखि हजुरआमा र नातिबिचमा सामान्य विवाद र भनाभन हुँदै आएको थियो। घटना भएको दिन शुक्रबार उनी मादक पदार्थ सेवन गरी घर गएको र सोही क्रममा हजुरआमासँग अंश माग्दै झगडा गर्दा विवाद भएपछि धारियो हतियार बन्चरो र चक्कु प्रयोग गर्दै हत्या गरेको देखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनामा प्रयोग भएको बन्चरो एक थान र चक्कु एक थानसमेत बरामद गरेको जनाएको छ।
 

सुझावित समाचार