‘स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर दि पोखरा–०८२ सम्पन्न भएको छ ।
साइकल र्यालीको माध्यमबाट पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकलयात्रीहरूलाई त्यसक्षेत्रको भ्रमण गराई हरित क्रान्तिको सुरुवात गर्ने उदेश्यले साइकल सिटी पोखराले पोखरा महानगरसँगको सहकार्यमा ५१ किलोमिटरको टुर दि पोखरा आयोजाना गरेको हो ।
पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा आयोजित कार्यक्रममा चार देखि ८६ वर्षसम्मका साइकलयात्री सहभागी थिए । टुरमा नेपालका ३२ जिल्लासँगै भारत र तेस्रो मुलुकका साइकलयात्री पनि सहभागी थिए । करिब एक हजारजनाले सहभागिता जनाएका आयोजक समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
विश्व साइकलयात्री पुष्कर शाहको विशेष सहभागितासँगै अभियान्ताहरू, फरक क्षमता ९वौद्रिक अपाङ्गता० भएका साइक्लिस्टहरुको समेत सहभागिता रहेको कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख घनराज आर्चायले उद्घाटन गरेका थिए । उद्घाटनपछि प्रमुख आर्चायले स्थानीय तथा अन्तर्राष्ट्रिय साइकलप्रेमीहरूको सहभागिताले पोखराको पर्यटन गतिविधिमा नयाँ ऊर्जा थप्ने काम गरेको बताए । महानगरले पोखरा नगर क्षेत्रमा रहेका ९ वटै ताल जोड्ने साइकल ट्रयाक निर्माण सुरु गरेको र आउँदो दुई वर्षमा यसले पूर्णता पाउने जानकारी दिए ।
विश्व साइकल यात्री शाहले मानव जीवन स्वच्छसँगै वातावरण संरक्षण र पर्यावरण जोगाउन साइकल यात्रा निकै उपयुक्त रहेको बताए । यस्ता कार्यक्रमले साइलकको प्रयोग बढाउनेसँगै युवाहरूलाई साइकल चढ्न आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
पोखरा सभागृहबाट सुरु भएको यात्राको पहिलो चरण सभागृहचोक, सृजनाचोक, सिद्धार्थचोक, विन्ध्यबासिनी मन्दिर चोक, केआइसिंह पुल, लामाचौर, अकला मन्दिर पुगेर सकिएको थियो । त्यसपछि दोस्रो चरण अकला मन्दिरबाट पुरुञ्चौर हुदै गण्डकी रेन्वो ट्राउटमा पगेर सम्पन्न भएको थियो । रेन्वो ट्राउटमा खाना खाएर पुनः अकला मन्दिर, पानी ट्याङ्की, महेन्द्रगुफा, बाटुलेचौर मैदान, बगर, नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोक हुदै कान्तिपुर गार्डेनवाटिका पुगेर ५१ किलोमिटरको यात्रा परूा गर्दै कार्यक्रम सम्पन्न भएको आयोजक समितिका सचिव रामचन्द्र भट्टले जानकारी दिए ।