कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्डअन्तर्गत धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा अण्डरपास निर्माण सुरु भएको छ ।
कोशी प्रदेशको संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविधुत आयोजनाको भारवहन समान निर्माणस्थलतर्फ लैजानको लागि अण्डरपास निर्माण गर्न सुरु गरिएको हो । मुलघाटको तमोर नदीको पुलबाट भारवहन सामान बोकेको गाडी लैजान जोखिम हुने भएकोले अण्डरपास निर्माण गर्न थालिएको छ । अरुण तेस्रो जलविद्युत आयोजनाले तमोर नदीमा करिब ६० मिटर लामो अण्डरपास निर्माण गर्नेछ ।
मुलघाटको पक्की पुलको अधिकतम भारवहन क्षमता ७० टनको रहेको छ । तर, निर्माणाधीन आयोजनामा लगिने ट्रान्सफर्मर, टर्बाइनलगायतका उपकरणसहित १४० टनसम्मको सामाग्री आउने आयोजनाका डिजीएम पंकज आनन्दले बताए । सडक विभागको स्वीकृति र नेपाल सरकारको अनुमतिमा मुलघाटमा अण्डरपास बनाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।
भारी तौलको सामाग्री लोड गरिएको गाडी पुलबाट तार्दा पुलमा क्षति हुने जोखिम भएकोले विकल्पको रुपमा अण्डरपास निर्माण गर्न थालिएको आयोजना कार्यालयले जनाएको छ । हिउँदको समयमा तमोर नदीमा पानीको सतह कम हुन्छ । पानीको सतह बढ्नुअघि नै अण्डरपास तयार गरिसक्ने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले सहमतिमा माथिबाटै सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।
आयोजनाले सडक सञ्जालले छोएका सबै पालिकाहरूसँग पनि भारवहन सामान लैजानको लागि आवश्यक भूमिका निर्वाह गरेको पनि प्रजिअ खड्काले बताए । अरुण तेस्रो जलविद्युत आयोजनाको काम अहिले संखुवासभामा निर्माणाधीन अवस्थामा रहेको छ ।