सिराहामा दुई मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको तीन ठाउँबाट दुई मुद्दाका तीन फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार अर्नमा गाउँपालिका र सुखीपुर तथा कल्याणपुर नगरपालिकाबाट सवारी ज्यान, लागुऔषध मुद्दाका तीन फरार प्रतिवादीलाई पक्राउ गरी सिराहा जिल्ला अदालतमा बुझाइएको हो।

सिराहा जिल्ला अदालतको गत १ मंसिरको पत्रअनुसार सवारी ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी सुखीपुर- ८ का करिब ४३ वर्षीय दीपेन्द्रकुमार सिंहलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा पेस गरिएको सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए। 

त्यस्तै, लागुऔषध मुद्दामा एक महिना कैद फैसला तोकिएका अर्नमा- ५ का करिब २९ वर्षीय कृष्ण साहलाई पनि खोजतलासको क्रमा पक्राउ गरी अदालतमा बुझाइएको उनले बताए। उनका अनुसार कल्याणपुर- २, चतरीबाट चालू सवारी ज्यान मुद्दाका स्थानीय करिब ६८ वर्षीय सकुन मुखियालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

ब्राउन सुगरसहित फेरि दुई पक्राउ

प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुईजनालाई पक्राउ गरेको भोलिपल्ट शुक्रबार पुनः दुईजनालाई पक्राउ गरेको छ।

सिराहाको धनगढीमाई नगरपालिका- ८ स्थित कसहा प्रहरी चौकी र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा अटोमा लुकाएको ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुईजनालाई पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार चेकजाँचको क्रममा ज.१ ह ३९३० नम्बरको अटोमा चालकको सिटमुनि लुकाएको प्लास्टिकबाहेक ६.५ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएपछि चालक दाङ जिल्लाको बागमोर नगरपालिका- ७ का करिब २९ वर्षीय देवराज ओली र अटोमा सवार सिन्धुलीको कमलामाई नगरपालिका- ६ रातमाटाका करिब ३४ वर्षीय सुशील अधिकारीलाई पक्राउ गरिएको छ।

पक्राउ गरिएका दुवैजनालाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     
 

सुझावित समाचार