तमू ह्युल छोजधींद्वारा कर्मचारी सम्मानित

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

तमू ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति संखुवासभाद्धारा तीन जना कर्मचारीहरु सम्मानित भएका छन् । शुक्रबार सदरमुकाम खाँदबारीमा तमू ल्होसारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उत्तरदक्षिण कोसी सडक कार्यालय प्रमुख इन्जिनियर रामबहादुर गुरुङ, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख नवराज गुरुङ र सिटिजन बैंकका शाखा प्रबन्धक ध्रुब गुरुङलाई खाँदा, माला र सम्मानपत्रद्धारा कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले सम्मानित गरेका थिए । 

तीनै जना कर्मचारीहरु संखुवासभा जिल्ला बाहिरका हुन् । मुलुक भित्रका जुनसुकै जिल्ला भएपनि संखुवासभामा आएर सेवा गर्नु साथै राष्ट्रलाई तमू समुदायको तर्फबाट नोकरीमा प्रवेश गरि योगदान पुर्याएकाले सम्मान गरिएको तमू ह्युल छोज धींका कार्यवहाक जिल्ला अध्यक्ष खिलराज गुरुङले बताए । उनको अनुसार, केही साताअघि मात्रै तमू ह्युल छोज धींले मालपोत कार्यालय खाँदबारीका प्रमुख अम्बरबहादुर गुरुङ र नेपाल वाणिज्य बैंकका शाखा प्रबन्धक कमला घलेलेलाई सम्मानपत्रद्धारा सम्मानित गरेका थिए । 

तमू समुदायको व्यक्तिहरु निजामति, बैकिङ, सेना प्रहरी र राजनैतिक क्षेत्रमा अगाडि बढेको व्यक्तिहरुलाई हौसला प्रदान गर्न जातीय संस्था तमू ह्युल छोजधीं भएकाले सम्मान गर्ने गरेको कार्यवहाक अध्यक्ष गुरुङको भनाइ छ । तों ल्हो (घोडा वर्ग) को स्वागत गर्दै तमु समुदायमा ल्होसार भित्रिसकेकाले विभिन्न कार्यक्रमहरु सुरु भइसकेको छ ।

 कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले मुलुक बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जातजातिहरु मिलेर मनाउनुपर्ने बताउँदै सबैमा ल्होसारको शुभकामना दिए ।  कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई, नेपाली कांग्रेसका नेता थलकुमार लिंखा, नेपाली कम्प्यूनिष्ट पार्टीका आरपी किराँती, जसपा नेपाल कृष्णप्रसाद तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
 

सुझावित समाचार