- मानव मस्तिष्कको भित्री भागमा स्नायु कोषिकाहरूको एउटा सानो समूह हुन्छ, जसलाई शरीरको ‘मास्टर घडी’ भनिन्छ
तपाईंले पनि सायद यो अनुभव गर्नुभएको होला, जस्तो तपाईंले आफ्नो अलार्म बिहान ६:३० बजेका लागि सेट गर्नुभएको छ । तर अलार्म बज्नुभन्दा ठिक केही मिनेटअघि नै तपाईंको आँखा खुल्छ । न कुनै आवाज, न कुनै शारीरिक हलचल, तर शरीरलाई अलार्म बज्न लागेको थाहा हुन्छ, आखिर कसरी ? अनौठो लाग्न सक्छ, तर अलार्म बज्नुभन्दा केहीअगाडि ब्युँझिनु कुनै संयोग नभएर यसका पछाडि वैज्ञानिक कारण छ ।
खासमा हाम्रो शरीरको पनि आफ्नै घडी हुन्छ, जो निरन्तर चलिरहेको हुन्छ । हाम्रो आनीबानीमाथि निगरानी गर्दै यसले आश्चर्यजनक रूपमा सटिक आन्तरिक समय प्रणाली निर्माण गरेको हुन्छ । र, एकपटक प्रणाली बनेपछि यसले हाम्रो सुत्ने र उठ्ने समयलाई नियमन गर्न थाल्छ । शरीरभित्रको अलार्म भन्न सकिने यस प्रणालीले आखिर कसरी काम गर्छ त ?
हर्मोनको खेल
मानव मस्तिष्कको भित्री भागमा ‘सुप्राचियास्मेटिक न्युलियस’ नामक स्नायु कोषिकाहरूको एउटा सानो समूह हुन्छ, जसलाई शरीरको ‘मास्टर घडी’ भनिन्छ । यी न्युरोनहरूले शरिरको निद्रा, शरीरको तापक्रम, भोक र पाचनजस्ता कुराहरूलाई नियमन गर्न सर्केडियन (२४ घण्टाको) लय तय गरेका हुन्छन् ।
सर्केडियन लयले नै शरीरलाई कुन समय निद्रा लाग्ने र कुन समय जागेको महसुस हुने भन्ने कुरा निर्धारण गर्छ । हामी हुर्कँदै गर्दा नै शरीरले प्राकृतिक रूपमा आफ्नो ‘मास्टर घडी’लाई आकार दिइरहेको हुन्छ । यो मानिसअनुसार फरक हुने भएकाले निद्रा लाग्ने र जागा रहने समयमा केही हेरफेर देखिन्छ । यसैले गर्दा केही मानिस बिहानै सूर्योदयसँगै उठ्छन् र ताजा महसुस गर्छन् । जबकि अरू मानिस भने लाटोकोसेरोजस्तो राति ढिलोसम्म जागा बस्न सक्छन् र बिहान धेरै ढिलो गरी मात्र उठ्छन् । यो मानिसअनुसारको भिन्न सर्केडियन लयमा भिन्नताको कारणले भएको हो ।
निदाउने र उठ्ने समय, खाना र व्यायामको दिनचर्या आदिले हाम्रो ‘मास्टर घडी’लाई आकार दिइरहेको हुन्छ । पछि, यसैले हाम्रा यी व्यवहार दिनको कुन समयमा हुनेछ भनेर निर्धारण गर्न थाल्छ । र, यसका लागि सोही समयमा आवश्यकताअनुसारको सम्बन्धित हार्मोनहरू निष्कासन गर्न थाल्छ । उदाहरणका लागि, जब हामी बिहान उठ्छौँ शरीरले ‘कोर्टिसोल जागरण प्रतिक्रिया’ भनेर चिनिने परिघटना महसुस गर्छ । अर्थात्, यस क्रममा शरीरमा कोर्टिसोल हार्मोनको तह एक्कासी बढ्छ, जुन हार्माेनले हामीलाई ताजा महसुस गरेर ऊर्जावान् महसुस गर्न मद्दत गर्दछ ।
नियमित रूपमा बिहानै उठ्ने र बिहानको घामको साक्षात्कार गर्ने मानिसको शरीरमा ‘मास्टर घडी’ले उनीहरू उठ्ने समयमा त्यससम्बन्धी तयारी गर्न थाल्छ । अर्थात् अलार्म बज्नुभन्दा अगाडि नै यस प्रणालीले शरीरलाई बिस्तारै उठाउने तयारी सुरु गरिसकेको हुन्छ । यसअन्तर्गत शरीरको तापक्रम बढ्छ, मेलाटोनिन (निद्राको हर्मोन)को स्तर घट्छ, र कोर्टिसोलको स्तर बढ्न थाल्छ । अर्थात् नियमित अलार्म बज्ने समयसम्म, पहिले नै शरीरको मास्टर घडीले हाम्रो शरीरलाई उठ्न तयार पारिसकेको हुन्छ । यो एकप्रकारको हार्मोनल अलार्म हो ।
नियमित अलार्म राख्ने मानिस प्राय: आफ्नो अलार्म बज्नुभन्दा केही मिनेटअगाडि उठ्छन् र ताजा महसुस गर्छन् भने यसले सो व्यक्तिको सर्केडियन लय राम्ररी काम गरिरहेको संकेत गर्छ । त्यस्ता व्यक्तिको शरीरको घडीले उनीहरूको दिनचर्याको अनुमान गर्न सिकिसकेको हुन्छ र सहज रूपमा निद्राबाट जागरणमा संक्रमण गर्न सघाउँछ । तर, यदि तपाईं आफ्नो अलार्मअघि ब्युँझनुभयो, तर उठेपछि थकित वा अनिदो महसुस गर्नुहुन्छ भने यसले तपार्इंको निद्राको गुणस्तर खराब रहेको संकेत गर्न सक्छ, न कि सर्केडियन लय बिग्रेको ।
नियमित उस्तै समयमा सुत्ने र उठ्ने बानीले शरीरको आन्तरिक घडीलाई शरीरलाई कुन समयमा संकेत दिने भन्ने सही समयको सूचना हुन्छ । यसका लागि सो प्रणालीले प्राकृतिक संकेतजस्तै दिनको प्रकाश र तापक्रमको घटबडलाई ख्याल गरिरहेको हुन्छ । अर्कोतर्फ, अनियमित निद्रा तालिकाले यी आन्तरिक शारीरिक लयलाई भ्रमित पार्न सक्छ, जसले गर्दा राति सुतेपछि पनि सहजै निद्रा लाग्दैन र उठेपछि पनि ऊर्जावान् भएर काम गर्न कठिन हुन्छ ।
नियमति निद्राको ढाँचा नभएपछि शरीरलाई ब्युँझिन अलार्मको आवश्यकता बढ्दै जान्छ । र, बाह्य अलार्म हामी निन्द्राको कुन चरणमा छौँ भन्ने ख्याल नगरी बज्ने भएकाले धेरै अवस्थामा यसले हामीलाई गहिरो निद्राबाट ब्युँझाइदिन्छ । यसले हामीलाई दिनभर अनिदो अनुभव गराउँछ । यस्तो खराब अनुभूति नगर्ने हो भने हामीले निद्राको दैनिकी ख्याल गर्ने र आफ्नो बानीमा केही ससाना परिवर्तन गनुपर्ने हुन्छ । यसले मात्र तपाईंको शरीरको आन्तरिक घडीको लयलाई पुन: मिलाउँछ, तपाईंलाई स्वाभाविक रूपमा ब्युँझन र साँच्चै आराम महसुस गर्न मद्दत गर्दछ ।
तनाव र चिन्ताले मानिसलाई बिहान स्वाभाविक रूपमा उठ्न मद्दत गर्ने हार्मोन कोर्टिसोलको स्तर बढाउने गर्छ । तनावको समयमा कोर्टिसोल बढेकै कारण मानिसलाई राति निदाउन गाह्रो हुन्छ वा निदाइहाले पनि चाँडै ब्युँझाउँछ । त्यस्तै, कुनै रोमाञ्चक घटनाहरूको अपेक्षा हुँदा पनि निदाउन गाह्रो हुन सक्छ । किनकि उच्च उत्तेजनाले मानिसको मस्तिष्कलाई सतर्क राख्छ र निद्रा पातलो हुने वा समयअघि ब्युँझने हुन्छ । यी परिस्थिति सामान्य हुन् र मानवजीवनमा समय–समयमा हुने गर्छ । तथापि, यदि तिनले लामो समयसम्म निद्रा बिथोले भनेचाहिँ शरीरमा समस्या निम्तिन सक्छ ।
पूर्वऔद्योगिक युगमा, मानिसहरूले आफ्नो निद्राको ढाँचालाई मार्गदर्शन गर्न सूर्य र चन्द्रमाको चाललाई प्रयोग गर्थे । आधुनिक समयमा, मानिसको सुत्ने उठ्ने कुरा कामको प्रकृतिअनुसार फरक पर्यो । यस्तोमा कतिपयलाई अलार्मविना स्वाभाविक रूपमा ब्युँझन गाह्रो हुन सक्छ । तर, यदि कोही व्यक्ति अलार्मविनै लगभग उही समयमा ब्युझिइरहेको छ भने यसले व्यक्तिलाई निद्रा पुगेको र शरीर घडी स्वस्थ र दैनिकीसँग लयबद्ध रहेको संकेत गर्छ ।
यदि कोही व्यक्तिलाई अलार्मविना ब्युँझन चाहन्छ भने उसले आफ्नो शरीरलाई केही कुरामा नियमित अभ्यस्त बनाउनुपर्ने हुन्छ । यसअन्तर्गत निद्रालाई नियमित सातदेखि आठ घण्टाको समय दिनुपर्छ (बिदाको दिनमा समेत) । त्यस्तै सुत्ने र उठ्ने समय लगभग उही समय पार्नुपर्छ । सुत्नु केहीअघि कफी, रक्सी वा भारी खानाले निद्रामा अवरोध पुर्याउने भएकाले तीबाट बच्नुपर्छ । सुत्ने कोठा अँध्यारो होस् भन्ने सुनिश्चित गर्नुपर्छ । त्यस्तै, पछिल्लो समय सुत्नुअघि मोबाइल, ट्याबलगायत धेरै चलाउने जुन बानी छ, त्यसलाई घटाउँदै लगभग पूर्ण छाड्नुपर्छ । यी बानी केही समय पालना गरियो भने शरीरको मास्टर घडीले बल्ल हामीलाई सहज रूपमा उठाउन सक्छ ।
युनिभर्सिटी अफ द सनसाइन कोस्टकी स्लिप हेल्थ प्रोफेसर याकुत फातिमा, मनोविज्ञानकी शीर्ष लेक्चरर एलेक्जान्ड्रा मेत्से र निद्राकी अनुसन्धाता डेनियल विल्सनको आलेखलाई द कन्भरसेसनबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।