शुक्रबार : १० बजेसम्मका मुख्य १० खबर

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

रवि लामिछाने थुनामुक्त

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने आठ महिनापछि रिहा भएका छन्।

कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएपछि लामिछाने शुक्रबार रुपन्देही कारागारबाट थुनामुक्त भएका हुन्। सुरु जिल्ला अदालतले १३ माघ ०८१ मा माग गरेको धरौटी र आफूले निवेदन साथ पेस गरेको बैंक जमानतसहित गरी लामिछानेले सो रकम बुझाएका हुन्।

सेयरको मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ

भ्रामक सूचना दिएर हाइड्रोपावरको सेयर मूल्य बढाएर लाभ लिएको तथा कृत्रिम रूपमा बढाएको आरोपमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको हो। 

उनले जोशी हाइड्रोपावर कम्पनीको सेयर भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा बिक्री गरेका थिए। त्यसबापत उनले ४९ लाख १९ लाख लाभ लिएको प्रहरीले जनाएको छ। 

मधेशका मुख्यमन्त्री यादवले पाए सभाको शतप्रतिशत मत

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाको शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । 

शुक्रबार प्रदेश सभामा पेस गरिएको विश्वासको प्रस्तावमा सहभागी भएका सबै सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।

शुक्रबार सभाको बैठकमा विभिन्न  दलका ९२ जना सांसद उपस्थित थिए ।  विपक्ष वा तटस्थमा एकजनाको पनि मत नपरेपछि  मुख्यमन्त्री यादवले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको उपसभामुख बबिताकुमारी राउत ईश्वरले घोषणा गरिन् ।

थुनामुक्त भएपछि रविले भने– देशको न्यायका लागि लड्न बाँकी छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमाथि भएको अन्यायका अगाडि आफूमाथि भएको अन्याय ज्यादै कम रहेको बताएका छन्।

शुक्रबार रुपन्देही कारागारबाट रिहा भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले देश र जनताको न्यायका लागि लड्न बाँकी नै रहेको प्रस्ट पारे।

‘न्यायको यो लडाइँ बाँकी नै छ। यो मेरा लागि भनेको होइन। तपाईंका लागि, यो देशको न्यायका लागि लड्नुपर्नेछ। यिनीहरूले यो देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। यो सब हिसाब गर्नु छ,’ उनले भने।

एकैपटक ६० सहसचिवको सरुवा

सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवाको सूची सार्वजनिक गरेको हो। 

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचन अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश, २०८२ जारी गरेका छन्। सरकारको सिफारिसअनुसार उनले अध्यादेश जारी गरेका हुन्। 

सरकारले ०७८ को जनगणनाअनुसार समानुपातिक समावेशी आधार समूहको प्रतिनिधित्व प्रतिशत तय गरेर अध्यादेश ल्याएको हो। जअनुसार आगामी निर्वाचनमा समानुपातिकतर्फ खस–आर्यको प्रतिशत घटेर मधेशी र मुस्लिमको बढ्नेछ । 

रास्वपाको समानुपातिक सूचीमा जेन–जी अगुवा पुरुषोत्तम यादव

जेन–जी अभियानका अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन् ।

रास्वपाले माग गरेको आवेदनअनुसार यादवले मधेशी क्लस्टरबाट आकांक्षा दर्ता गराएका हुन् ।

रास्वपाले गएराति सार्वजनिक गरेको सूचीमा जेन–जी अगुवा यादवको नाम पनि मधेशी क्लस्टरमा छ । उनी युवामाझ सक्रिय जेन–जी आन्दोलनका परिचित अनुहारका रूपमा चिनिन्छन् ।

बाक्लो हुस्सु र शीतलहरले मधेशको जनजीवन प्रभावित

आज बिहानैदेखि सुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण रौतहटसहित मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ। अत्यधिक चिसो, कुहिरो र शीतलहरका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको छ।

बिहानैबाट आकाश ढाकिने गरी लागेको बाक्लो हुस्सोका कारण दृश्यता अत्यन्तै कम हुँदा मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन्। चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन्। चिसो हावा र शीतलहरका कारण सर्वसाधारणले आगो तापेर समय बिताउनुपर्ने अवस्था देखिएको छ।

दीक्षान्त समारोहको तयारीमा जुट्यो त्रिवि, १६ हजार विद्यार्थी सहभागी हुने

त्रिभुवन विश्वविद्यालय १० पुसमा हुने दीक्षान्त समारोहको तयारीमा जुटेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै त्रिविले दीक्षान्त समारोहको तयारी र व्यवस्थापनबारे जानकारी गराएको हो।

त्रिविका अनुसार यसपटक दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी सहभागी हुँदै छन्। यस वर्ष स्नातक तहदेखि पिएचडीसम्म ८९ हजार १९९ विद्यार्थी उत्तीर्ण भए पनि निकै कमले दीक्षान्त समारोहका लागि फारम भरेका थिए।

त्रिवि उपकुलपति प्राडा दीपक अर्यालले दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल, पिएचडी तह उत्तीर्ण गरेका विद्यार्थीहरू सहभागी हुँदै छन्। दीक्षित हुनका लागि सबैभन्दा बढी स्नातक तहका विद्यार्थीले फारम भरेका छन्।

डिभी कार्यक्रम बन्द गर्ने अमेरिकाको घोषणा

अमेरिकाले डिभी कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोयमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार ‘युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस’लाई डिभी कार्यक्रम रोक्न निर्देशन दिएको सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएकी छिन्।

सुझावित समाचार