३१औँ अन्तरमाध्यमिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी आयोजकलाई

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका– १३, साँगामा अवस्थित नेपाल पुलिस स्कुलको आयोजनामा ३१औँ अन्तरमाध्यमिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिता सम्पन्न भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबिच प्रतियोगिता सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगाले सैनिक आवासीय माध्यमिक विद्यालय, भक्तपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा प्रथम, सैनिक आवासीय माध्यमिक विद्यालय, भक्तपुर द्वितीय तथा पिस पोइन्ट बोर्डिङ स्कुल तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

व्यक्तिगत विधातर्फ नेपाल पुलिस स्कुल साँगाका मनीष बनाइट सर्वोत्कृष्ट खेलाडी घोषित भए भने नेपाल पुलिस स्कुलकै समीर थापा सर्वोत्कृष्ट गोलकिपर बने । उदीयमान खेलाडीका रूपमा सैनिक आवासीय माध्यमिक विद्यालय, भक्तपुरका नीरज अधिकारी घोषित भए । प्रतियोगिताको फेयर प्ले टिमको उपाधि बिकेटेश्वर स्कुलले प्राप्त गर्यो भने उत्कृष्ट मार्चपास नेपाल एपिएफ स्कुल, कीर्तिपुरले हासिल गर्यो । फाइनल खेलको प्लेयर अफ द म्याच नेपाल पुलिस स्कुलका रोनीवीरविक्रम शाह घोषित भए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । साथै म्याच रेफ्री तथा अफिसियलहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितालाई उत्साह, अनुशासन र खेलभावनासहित सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याउने आयोजक समिति, सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, प्रहरी कर्मचारी तथा दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

तीन दशकभन्दा लामो इतिहास बोकेको यस प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन, सहकार्य, नेतृत्व र खेलकुद संस्कार विकास गर्दै नयाँ प्रतिभाको पहिचान तथा विद्यालयस्तरको फुटबलको स्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याएको उनले उल्लेख गरे । अध्ययनसँगै खेलकुद तथा सिर्जनशील गतिविधिमार्फत विद्यार्थीहरूको सर्वांगीण व्यक्तित्व विकास, गुणस्तरीय शिक्षा, स्वस्थ शैक्षिक वातावरण तथा शारीरिक–मानसिक स्वास्थ्यप्रति विद्यालय परिवार प्रतिबद्ध रहेको भन्दै उनले विजेता, उपविजेता तथा सहभागी सबै टिमलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरे भने नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगितासम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो भने नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले गरिएको थियो ।

मंसिर १७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, नेपाल पुलिस स्कुल चितवन, नेपाल पुलिस स्कुल सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय भक्तपुर, नेपाल सशस्त्र प्रहरी विद्यालय कीर्तिपुरलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका जम्मा १४ विद्यालयका १५ टिमको सहभागिता रहेको थियो ।

सुझावित समाचार