सिराहाको लहान नगरपालिका– २३, गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोप्य सूचनाको आधारमा स्थानीय दुई युवकलाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा लहान– २३ का करिब ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दास रहेका सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।
इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरिएकोे उनले बताए। उनका अनुसार साहले पाइन्टको गोजीमा लुकाएको प्लास्टिकबाहेक १५ ग्राम र दासले मुखभित्र लुकाएको प्लास्टिकबाहेक १.५ ग्राम खैरो हेरोइन बरामद भएको छ। पक्राउ परेका दुवैजनालाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिराहा प्रहरीले पछिल्लो मंसिर महिनामा जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटहरूबाट खटिएका प्रहरीले विभिन्न खालका प्रतिबन्धित लागुऔषधसहित १९ जना पक्राउ गरिएको जनाएको छ। प्रहरीको तथ्यांकअनुसार एक महिनाको अवधिमा १० क्विन्टल १९ किलो ९३० ग्राम गाँजा, २४ ग्राम ६५५ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। त्यस्तै, एक सय एमएलको १५ बोतल कोडिबेल, २१–२१ एम्पुल फेनार्गन र डाइजेपाम इन्जेक्सन तथा बुप्रेनोर्फिन बरामद भएको प्रहरीले जनाएको छ।