भारत र दक्षिण अफ्रिकाबिचको चौथो टी–२० आई खेल खराब वातावरणका कारण रद्द भएको छ । लखनउमा बुधबार चौथो टी–२० आई हुनुपर्ने थियो । तर, रातिको ९:३० बजेसम्म पनि अत्यधिक हुस्सुका कारण मैदान खेल्न योग्य नभएपछि अम्पायरले खेल रद्द भएको निर्णय सुनाएका थिए । खेल नहुँदा दर्शक घर फर्किए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले बिक्री भएको टिकटको मूल्य फिर्ता गर्ने जनाएको छ । भारत र दक्षिण अफ्रिकाबिचको खेल हेर्न नेपालबाट पनि अत्यधिक दर्शक सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार केही दर्शकले गहुँ बेचेर टिकट खरिद गरेका थिए ।
अम्पायरले खेल नहुने भनेपछि प्यारापिटबाटै हजारौँ दर्शकले टिकटको पैसा फिर्ता हुनुपर्ने माग राखेका थिए । बिसिसिआईले टिकट काटेर रंगशालाभित्र प्रवेश गरेका सबै दर्शकको पैसा फिर्ता हुने जनाएको छ । लखनउको इकाना क्रिकेट मैदानमा अस्वाभाविक रूपमा अत्यधिक हुस्सु लागेको थियो । खेलमा टससमेत हुन सकेन । अम्पायरले ६ पटक मैदानको निरीक्षण गरेका थिए । सामान्य भिजिबिलिटी हुँदासम्म खेल गराउने पक्षमा उनीहरू थिए । तर, खेल आयोजना गर्न पर्याप्त भिजिबिलिटी नहुँदा खेल रद्द गरियो । ‘खेल नभएपछि दर्शकको पैसा फिर्ता गर्छाैँ । नियमअनुसार एक बल पनि नफ्याँलेपछि दर्शकको पैसा फिर्ता गर्नुपर्छ,’ बिसिसिआईले जनाएको छ, ‘उत्तर प्रदेश क्रिकेट एसोसिएसनले इन्सुरेन्स कम्पनीसँग अपिल गर्नेछ ।’ इन्सुरेन्सको प्रक्रिया पूरा हुन १० दिनसम्म लाग्न सक्छ । अनलाइन टिकट काटिएको हुँदा बिसिसिआईले पनि अनलाइनमै पैसा फिर्ता गर्ने बताएको छ ।
टिकट मूल्य पाँच सयदेखि २५ हजार भारुसम्म
इकाना मैदानमा फरक–फरक मूल्यको टिकट निर्धारण गरिएको थियो । सबैभन्दा कम मूल्यको टिकट भारु पाँच सय थियो । यसपछि आठ हजार पाँच सय मूल्य तोकिएको थियो । भिभिआइपी लाउन्जको टिकट २५ हजार तोकिएको थियो । जहाँ फुल बफे सिस्टमको सुविधा रहेको थियो । पाँच टी–२० शृंखलामा भारत २–१ ले अघि छ । अब पाँचौँ खेल शुक्रबार हुनेछ । भारतले पहिलो खेलमा १०१ रनले जितेको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५१ रनले विजयी भयो । धर्मशालामा भएको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो । यसअघि सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा पनि भारत र न्युजिल्यान्डबिचको खेल हुस्सुका कारण ३० मिनेटभन्दा बढी रोकिएको थियो ।