‘स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित शनिबार पोखरामा टुर द पोखरा– ०८२ हुने भएको छ ।
साइकल सिटी पोखराको आयोजनामा हुने आठौँ संस्करणको दूरी ५१ किलोमिटर तय गरिएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । साइकल र्यालीको माध्यमबाट पोखरा र आसपासका पर्यटकीय गन्तव्यको पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकलयात्रीहरूलाई भ्रमण गराई हरित क्रान्तिको सुरुवात गर्ने उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए।
पोखरा सभागृहबाट सुरु हुने यात्राको पहिलो चरण सभागृहचोक, सिर्जनाचोक, सिद्धार्थचोक, विन्ध्यबासिनी मन्दिर चोक, केआई सिंह पुल, लामाचौर, अकला मन्दिर पुगेर सकिनेछ । त्यसपछि दोस्रो चरण अकला मन्दिरबाट पुरुन्चौर हुँदै गण्डकी रेन्बो ट्राउटमा पुगेर सम्पन्न हुनेछ । रेन्बो ट्राउटमा खाना खाएर पुनः अकला मन्दिर, पानी ट्यांकी, महेन्द्रगुफा, बाटुलेचौर मैदान, बगर, नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोक हुँदै कान्तिपुर गार्डेन बाटिका पुगेर ५१ किलोमिटरको यात्रा पूरा गर्दै समापन हुने श्रेष्ठले जानकारी दिए ।
चार देखि ८६ बर्षसम्मका नेपालका ३२ जिल्लासँगै भारतलगायत देशका ८६० जना साइक्लिस्टहरूले रजिस्ट्रेसन गरिसकेका छन् । स्थानीयस्तरमा रजिस्ट्रेसन नगरी धेरै साइक्लिस्टहरू जमघट हुने आयोजक समितिका सचिव रामचन्द्र भट्टले जानकारी दिए । कार्यक्रममा विश्व साइकलयात्रीहरू, सामाजिक अभियन्ताहरू र फरक क्षमता (वौद्रिक अपांगता) भएका साइक्लिस्टहरूको उल्लेख्य सहभागिता रहेने उनले बताए ।