आचारसंहिता पालना गरे पत्रकारका समस्या आफैँ समाधान हुन्छ : प्रेस काउन्सिल अध्यक्ष आचार्य

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका अधिकांश समस्या पत्रकार आचारसंहिताको पूर्ण पालना गरे स्वतः समाधान हुने बताएका छन् । प्रेस काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको समन्वयमा तौलिहवामा आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा उनले समाचार संप्रेषणमा विवेक र जिम्मेवारी अपनाए आचारसंहिता पालनको वातावरण आफैं तयार हुने बताए । 

अध्यक्ष आचार्यले पत्रकारितामा समानुभूतिको नीति कार्यान्वयन गरिए गलत सूचना र भ्रामक समाचार प्रसारण नहुने उल्लेख गरे । उनले भने, ‘आचारसंहिता पालना गर्ने पत्रकारको संरक्षण गर्नु काउन्सिलको दायित्व रहेको र  पत्रकारले नियम पालना गरे काउन्सिलले उनीहरूको सुरक्षाका लागि पूर्ण भूमिका खेल्छ ।’ आफू सरकारद्वारा नियुक्त भए पनि स्वतन्त्र, निष्पक्ष र पक्षपातरहित रूपमा काम गरिरहेको उनले बताएका छन्  ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले पछिल्लो समय प्रविधिको तीव्र विकास र मिडियाको आयाम विस्तारसँगै आचारसंहिता पालन थप चुनौतीपूर्ण बन्दै गएको बताए । 

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सञ्चार माध्यम सञ्चालनका स्रोतहरू खुम्चिँदै जाँदा मिडिया क्षेत्र धरासायी हुने अवस्थामा पुगेको बताए । 

कार्यक्रममा प्रेस काउन्सिका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहोराले पत्रकार आचारसंहिता पालनको वर्तमान अवस्था, पत्रकार र सञ्चार माध्यमको भूमिका तथा आचारसंहिता कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । 

छलफलमा पत्रकारहरूले सामुदायिक रेडियोले संगीत रोयल्टीको नाममा ठूलो रकम तिर्नु परेको, पत्रिका वर्गीकरणमा तह नबढाइएको, अनलाइन माध्यम सूचीकरणमा काउन्सिलको भूमिका स्पष्ट नभएको तथा केही अनलाइन माध्यमबाट साम्प्रदायिक सद्भावमा खलल पुर्याउने सामाग्री प्रकाशन–प्रसारण हुँदा पनि प्रभावकारी नियमन हुन नसकेको गुनासो गरेका थिए ।
 

सुझावित समाचार