सुदूरपश्चिम प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिइएको छ । यहाँका विभिन्न जिल्लामा मनाइने भुवा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिमका बाजुरा, बझाङलगायतका जिल्लामा मौलिक पर्व भुवा धुमधामका साथ मनाउने गरिन्छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ। पछिल्लो समय यहाँको तराई क्षेत्रमा पनि भुवा पर्व मनाउन थालिएको छ । बाजुरा, बझाङलगायत जिल्लाबाट बसाइँ सरी आएका समुदायले तराईमा पनि भुवा पर्व मनाउन थालेका हुन् ।
बाजुरेली सेवा समाज कैलालीले शुक्रबारदेखि धनगढीमा भुवा पर्व महोत्सव नै आयोजना गरेको छ । महोत्सवका अवसरमा भुवा चाली प्रतियोगितासमेत गर्न लागिएको समाजका अध्यक्ष भरतबहादुर केसीले जानकारी दिए । भुवा महोत्सव धनगढीमा तीन दिनसम्म सञ्चालन हुने समाजले जनाएको छ ।