युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धी अमेरिकी प्रस्तावलाई केही दिनभित्रै अन्तिम रूप दिइने बताएका छन् । आफूहरूले अन्तिम रूप दिएको दस्ताबेजलाई त्यसपछि अमेरिकी राजदूतले क्रेमलिनमा प्रस्तुत गर्ने र यसै साताभित्र उच्चस्तरीय बैठक हुन सक्ने उनले जानकारी दिए ।
बर्लिनमा दुई दिन लामो वार्तापछि, अमेरिकी अधिकारीले पनि सोमबार नै रुस र युक्रेनबिच कायम ‘९० प्रतिशत’ कठिन मुद्दा समाधान गरिसकेको बताएका थिए । तर, हालसम्मको वार्तामा रुसी पक्ष अनुपस्थित रहेकाले पछिल्लो प्रगतिमा तिनले कस्तो प्रतिक्रिया जनाउने हुन् स्पष्ट छैन ।
मंगलबार बिहानै पत्रकारसँग बोल्दै युक्रेनी राष्ट्रपतिले आफूहरूको सुरक्षा ग्यारेन्टीबारेमा अमेरिकी संसद्मा मतदान हुने अपेक्षा रहेको बताए । ‘आज वा भोलिमै युद्धविराम प्रस्तावको अन्तिम प्रारूप तयार हुने अपेक्षा छ,’ उनले भने ।
उता रुसले भने यसबारे अनभिज्ञता व्यक्त गरेको छ । ‘हामीले अहिलेसम्म अखबारका रिपोर्टहरू मात्र हेर्न पाएका छौँ, जसको जवाफ हामी दिनेछैनौँ । यससम्बन्धी कुनै ठोस कागजपत्र हामीले देखेका छैनौँ,’ मंगलबार रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन)का प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारलाई भने ।
अहिले मुख्य विवादको विषय भूमिलाई लिएर कायम देखिन्छ । ट्रम्पले त रुसले कब्जा गर्न बाँकी दोनबास क्षेत्रसमेत युक्रेनले उसलाई दिनुपर्ने बताएका छन् । युक्रेन भने हाल दुई सेना भिडिरहेको रेखालाई स्थिर गर्न चाहन्छ ।
‘हामी क्षेत्रीय मुद्दाबारे छलफल गरिरहेका छौँ । यो बहसको प्रमुख मुद्दामध्ये एक हो । यसमा हालसम्म कुनै सहमति बनेको छैन,’ बर्लिन वार्तापछि जेलेन्स्कीले भनेका थिए ।
उता अमेरिकी वार्ताकार स्टिव विट्कोफ र जारेड कुस्नरले भने बिचको बाटो प्रस्ताव गरेका छन्, जसअन्तर्गत विवादित क्षेत्रबाट युक्रेनी सेना फिर्ता हुने र रुस पनि अगाडि नबढ्ने भनिएको छ । त्यस भागलाई नि:शस्त्रीकृत ‘स्वतन्त्र आर्थिक क्षेत्र’ बनाइनेछ । उता रुसले भने त्यस्ता भूभागमा सेनाको सट्टा प्रहरी र राष्ट्रिय गार्डको संरचना प्रयोग गर्न सकिने तर नियन्त्रण नत्याग्ने बताएको छ ।
जेलेन्स्कीले यसअघि युक्रेनी जनताले जनमत संग्रहमार्फत स्वतन्त्र आर्थिक क्षेत्रजस्तो सम्झौतालाई समर्थन गरे आफूहरू पालना गर्न तयार रहेको बताएका छन् ।
‘यदि यो कुरा पनि रुसले मानेन भने मलाई विश्वास छ कि संयुक्त राज्य अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउनेछ र युद्धका लागि हामीलाई थप हतियार प्रदान गर्नेछ,’ जेलेन्स्कीले भने ।