काठमाडौंको बल्खु र भक्तपुरको मध्यपुर थिमिमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएकाे छ। काठमाडौं महानगरपालिका– १४, बल्खुस्थित सडकमा ग.२ख २०३९ नम्बरको ट्रकले बा.प्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, भक्तपुृरमा भएको दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन्। मध्यपुर थिमि नगरपालिका– ४, चारदोबाटोस्थित सडकमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१३ प ६५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भक्तपुर नगरपालिका– २ इताछेँ बस्ने २६ वर्षीय विजय खर्बुजाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।