श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ देखि ७ पुससम्म अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरेको छ।
मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय रूपमा मनाइने दिवस नेपालमा सप्ताहव्यापी कार्यक्रम गरी मनाउन लागिएको हो।
मन्त्रालयका सचिव कृष्णहरि पुस्करले सुरक्षित र मर्यादित वैदेशिक रोजगारी तथा आन्तरिक रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिएर दिवस मनाउन लागिएको जानकारी दिए। यस वर्षको दिवसमा ‘श्रम आप्रवासनका चक्रमा सुशासन : सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ नारा राखिएको छ।
सात दिनमा विभिन्न खेलकुद कार्यक्रम, अन्तर्क्रिया र सन्देशमूलक सामग्री वितरणलगायतका माध्यमबाट सुरक्षित, मर्यादित र सिपयुक्त श्रम आप्रवासन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले श्रम आप्रवासनको सम्पूर्ण चक्रमा सुशासन, श्रमिकको योगदानको सम्मान, अधिकारको संरक्षण तथा सुरक्षित रोजगारीको महत्त्वलाई उजागर गर्ने लक्ष्य राखिएको बताए।