जेन–जी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग सोधपुछ गरेको छ। सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगले २३ र २४ गतेको आन्दोलनमा सेना परिचालनबारे सोधपुछ गरेको हो ।
खासगरी २४ भदौको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत निकायमा सेनाको परिचालनबारे प्रधानसेनापतिसँग आयोगले विवरण मागेको थियो । ती संरचना जोगाउन नसकेकोमा नेपाली सेनाको आलोचना हुँदै आएको छ ।
आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तत्कालीन मुख्यसचिवलगायतसँग पनि सोधपुछ गरिसकेको छ। अब तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बोलाउने तयारी गरेको छ। आयोगको म्याद अब नौ दिन मात्र बाँकी छ।