सिड्नीको बोन्डी तटमा गोली चल्दा ११ जनाको मृत्यु

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्र तटमा यहुदीको एक धार्मिक कार्यक्रममा दुई बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । यहुदी समुदायका सदस्यले साँझमा दीप प्रज्वलन गरी आठ दिन लामो यहुदी पर्व हनुक्का मनाउने क्रममा समुद्री तटमा भेला भएका मानिसमाथि बन्दुकधारीले गोली चलाएका हुन् । स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेर ४७ मिनेटमा बोन्डाई तटको घाँसे क्षेत्रमा रहेको आर्चर पार्कमा गोलाबारी भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । आक्रमणमा करिब ५० वटा गोली चलाइएको थियो । 

प्रहरीको जवाफी कारबाहीमा एक बन्दुकधारीको मृत्यु भएको र अर्का एक आक्रमणकारीसहित करिब २९ जना घाइते भएका छन् । तीमध्ये एक बालक र दुई प्रहरी रहेका न्यु साउथ वेल्सका प्रहरी कमिस्नर मल लेनिओनले बताए । उनले गोलाबारीलाई ‘आतंकवादी घटना’ भनेका छन् आक्रमणपछि प्रहरीको जवाफी हमलामा घाइते भएका दोस्रो बन्दुकधारीको अवस्था गम्भीर छ । एक संदिग्ध आक्रमणकारीले प्रयोग गरेको कारमा विस्फोटक पदार्थ फेला परेको थियो । फेला परेको उक्त पदार्थलाई घटनास्थलबाट तुरुन्तै हटाइएको थियो । 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डीको दृश्य ‘स्तब्ध पार्ने र पीडादायी’ रहेको बताएका छन् । उनले उक्त हमला निन्दनीय र अकल्पनीय रहेको बताए । ‘प्रहरी र आपत्कालीन सेवाले जीवन बचाउन घटनास्थलमा काम गरिरहेका छन् । मेरो विचार आक्रमणबाट प्रभावित प्रत्येक व्यक्तिसँग छ,’ उनले एक विज्ञप्तिमा भने । अल्बानिजले आक्रमणलाई समग्रमा देशलाई आघात पुर्याउने यहुदीविरोधी आतंकवादी कार्य’ भनेका छन् । 

समुद्र तटमा आयोजना गरिएको कार्यक्रममा एक हजारभन्दा बढी मानिसहरूको उपस्थिति रहेको प्रहरीले जनाएको छ । एक प्रत्यक्षदर्शीले गोलाबारी सुरु हुँदा समुद्र तटमा आयोजना भइरहेको कार्यक्रमबाट आफ्ना बच्चाहरूसँगै दौडिरहेको वर्णन गरे । अस्ट्रेलियामा सामूहिक गोलीबारी दुर्लभ छन् र पछिल्लो घटनाबाट सर्वसाधारण मानिस स्तब्ध भएका छन् ।

आक्रमणको विभिन्न देशका नेताहरूले विरोध जनाएका छन् । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले गोलीबारीलाई ‘यहुदीहरूमाथिको क्रूर आक्रमण’ भनेका छन् भने बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायत ‘अस्ट्रेलिया र यहुदी समुदायको साथमा सधैँ उभिने’ बताए । त्यस्तै, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले हानका मनाउन जम्मा भएका परिवारहरूमाथि अतिवादीले हमला गरेको भन्दै अस्ट्रेलियालीको पीडामा सँगै उभिएको बताएका छन् । यसैबिच सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको फ्रान्सेली समाचार संस्था एएफपीले टिप्पणी गरेको छ ।
 

सुझावित समाचार