बढ्दो जाडोलाई मध्यनजर गर्दै सिरहाको धनगढीमाई नगरपालिका– २ भवानीपुरमा ज्येष्ठ नागरिकहरुलाई न्यानो फाइबर सिरक र सरसफाइ सामग्री वितरण गरिएको छ।
करिब डेढ वर्षदेखि स्थानीय ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचार, पोषणसहित हेरचाहका लागि काम गर्दै आएको स्थानीय ‘बुढ्यौली बचाऊ अभियान नेपाल’ले आइतबार भवानीपुर क्षेत्रका सयजना ज्येष्ठ नागरिकहरुलाई एक/एक थान फाइबर सिरक, साबुन र मञ्जन वितरण गरेको हो।
स्थानीय सरकार, पार्टी प्रतिनिधिहरुको उपस्थितिमा ज्येष्ठ नागरिकहरुका लागि न्यानो सामग्री वितरण गरिएको अभियानका अध्यक्ष दिपेश चौधरीले जानकारी दिए। अभियानका कार्यकारी निर्देशकसमेत रहेका सामाजिक अभियन्ता रामजी साहले पछिल्लो वर्ष पनि २८ मंसिरकै दिनदेखि थालिएको न्यानो सिरक वितरणलाई निरन्तरता दिइएको बताए।
‘हरेक वर्ष २८ मंसिरमा न्यानो सिरक, १० अक्टोवरमा ज्येष्ठ नागरिक दिवस, ८ असारमा अभियानको जन्मोत्सव र ३ चैतमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर चलाउँदै आएको छौं,’ उनले भने, ‘वर्षको चार दिन ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर विशेष कार्यक्रम गर्दै आएका छौं।’
जनसहयोग अभियान जारी
कामको अनुभव, ज्ञान र सीप हुँदा हुँदै प्रायः बुढ्यौलीको कारणले पारिवारिक विभेद, अपमानको सामना गरिरहेका ज्येष्ठ नागरिकहरुका लागि बुढ्यौली समाज जनसहयोग अभियान निरन्तर संचालन भइरहेको उनले बताए। उनका अनुसार अभियानअन्तर्गत कात्तिक महिनासम्म घरदैलो अभियानमार्फत अभियानको खर्च कटौती गरी एक लाख १७ हजार २४७ रुपैयाँ बैंक मौज्दात रहेको छ।
हरेक दृष्टिकोणले अनुभवी, मूल्यवान ज्येष्ठ नागरिकहरुको जीवन सशक्त बनाउँदै मर्यादासहित बाँच्ने वातावरण बनाउन अभियान थालिएको उनले बताए। हरेक महिना भवानीपुर गाउँ क्षेत्रका घरधुरी, जनप्रतिनिधि, राजनीतिकर्मी, पेशाकर्मी, समाजसेवीहरुबाट प्रत्यक्ष तथा अफलाइनमार्फत आर्थिक सहयोग जुटाइने र त्यसमा कार्यकारी निर्देशकले प्रतिघरधुरी पाँच रुपैयाँको दरले हुन आउने रकम एकमुष्ठ रुपमा संकलन हुने गरेको छ।
उक्त रकम ६० वर्षमाथिका कुनै पनि ज्येष्ठ नागरिकलाई उपचारका लागि अस्पताल लैजानु परे शतप्रतिशत एम्बुलेन्स खर्च र आर्थिक अवस्थाको आधारमा उपचारका लागि सहयोग उपलब्ध गराउने गरी नीति बनाइएको अभियानले जनाएको छ।
अभियानले सहयोगीहरुलाई थप प्रोत्साहित गर्न एक लाख वा सोभन्दा बढी सहयोग गर्नेलाई मुख्य संरक्षक, ५० हजारदेखि माथि ९९ हजार ९९९ सम्म स्वर्णदाता, २५ हजारदेखि ४९ हजार नौ ९९ रुपैयाँसम्म रजत दाता, १० हजारदेखि २४ हजार नौ सय ९९ कास्य दाताको रुपमा सूचीकृत गर्ने गरेको छ। त्यस्तै, पाँच हजारदेखि नौ हजार नौ सय ९९ साथी दाता, एक हजारदेखि पाँच हजार रुपैयाँसम्म सहयोगी दाता र पाँच रुपैयाँदेखि नौ सय ९९ रुपैयाँ सहयोग गर्नेको नाम स्नेहदाताको नाममा सूचीकृत गरी अभियानको वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ।