अस्ट्रेलियाको सिड्नीको बोन्डी समुद्री तटमा गोली प्रहारबाट १२ जनाको मृत्यु

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

अस्ट्रेलियाको न्यू साउथ वेल्सको सिड्नीको बोन्डी समुद्र तटमा भएको गोली प्रहारबाट १२ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। सुरुमा १० जनाको मृत्यु भएको सार्वजनिक भए पनि पछि मृतकको संख्या बढेको जनाइएको छ। 

विभिन्न सञ्चारहरूले न्यू साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सले मृत्यु हुनेको संख्या १२ पुगेको स्वीकार गरेको बताएका छन्।

‘सार्वजनिक क्षेत्रमा दुई पुरुषले गरेको गोलाबारीपछि बोन्डी तटमा प्रहरी अपरेसन चलिरहेको छ,’ अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ।

न्यू साउथ वेल्सका प्रहरी आयुक्त एम लान्योनका अनुसार घटना अस्ट्रेलियाको पूर्वी दिवा समयअनुसार साँझ ६ः४७ बजे बोन्डी तटको आर्चर पार्कनजिकै भएको थियो।

यो घटना बोन्डी तटको उत्तरी भागको भिडभाडयुक्त क्षेत्रमा भएको थियो।

‘समुद्र तटपछाडिको घाँसे मैदाननजिकै उत्सव चलिरहेको थियो,’ उनी भन्छिन्, ‘मानिसहरूले समुद्र तटमा पुग्न प्रयोग गर्न सक्ने एउटा पैदल पुल थियो। सायद बन्दुकधारीहरूले यसलाई निशानाको रूपमा प्रयोग गरेका थिए।’

सुझावित समाचार