नेपाल राष्ट्र बैंकले व्यक्तिगततर्फको कर्जा सीमा हटाउँदा पनि सेयर मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयर धितो कर्जामा आकर्षण न्यून देखिएको छ । व्यक्तिगत सेयर धितो कर्जामा तोकिएको अधिकतम २५ करोड रुपैयाँको सीमा केन्द्रीय बैंकले गत २२ असोजमा हटाएको थियो । त्यसपछि सेयर धितो कर्जाको माग बढ्ने अपेक्षा गरिए पनि न्यून नै रहेको देखिन्छ ।
गत साउनमा तीन अर्ब ८३ करोड २० लाख र भदौमा एक अर्ब सात करोड ४० लाख रुपैयाँले सेयर धितो कर्जा बढेको थियो । तर, असोजमा भने त्यो ६५ करोड ९० लाख रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । सोही महिनामा व्यक्तिगत सेयर धितो कर्जाको सीमा हटाइएको थियो । त्यसपछि कात्तिकमा सेयर धितो कर्जा एक अर्ब २७ करोड ५० लाख रुपैयाँले बढेको छ । तर, यो अपेक्षाकृत नभएको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए ।
मार्जिन प्रकृतिको कर्जाको बक्यौता अर्थात् आउटस्ट्यान्डिङको आधार यस्तो आँकडा देखिएको हो । गत असार मसान्तसम्म सेयर खरिद गर्न लगानीकर्ताले एक खर्ब ४० अर्ब ७० करोड ऋण लगेका थिए । त्यो साउन मसान्तसम्ममा एक खर्ब ४४ अर्ब ५३ करोड ५० लाख रुपैयाँ र भदौ मसान्तसम्ममा एक खर्ब ४५ अर्ब ६० करोड ९० लाख रुपैयाँ पुगेको थियो । तर, असोज मसान्तसम्म आउँदा त्यो घटेर एक खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँमा सीमित भयो । कात्तिकमा त्यो एक अर्ब २७ करोड ५० लाख रुपैयाँ बढेर एक खर्ब ४६ अर्ब २२ करोड ५० लाख रुपैयाँ पुगेको हो । त्यसमा वाणिज्य बैंकबाट एक खर्ब २३ अर्ब ५१ करोड ३० लाख रुपैयाँ, विकास बैंकले १८ अर्ब ८८ करोड ९० लाख रुपैयाँ र वित्त कम्पनीबाट तीन अर्ब ८२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
एभरेष्ट बैंकका सिइओ सुदेश खालिङले सीमा हटाउँदा पनि सेयर धितो कर्जाको माग अपेक्षाकृत रूपमा नबढेको बताए । ‘सीमा हटाएपछि सेयर धितो कर्जाको माग धेरै नै हुन्छ भन्ने आशा थियो । तर, अपेक्षा गरेजस्तो देखिएन,’ उनले भने, ‘अहिले कर्जाको माग जति छ, त्यसमा सेयर धितो कर्जा र ऊर्जातर्फ नै धेरै छ । तर, सेयर धितो कर्जामा जे अपेक्षा थियो, त्यो भएन ।’
मुख्यत: सेयर बजारमा उत्साह नभएपछि कर्जाको माग नबढेको उनले बताए । २३ र २४ को जेन–जी आन्दोलनपछि सेयर बजारमा पनि अनिश्चितता छ । जेन–जी आन्दोलन र त्यसपछिको कफ्र्युका कारण सेयर बजार झन्डै डेढ साता बन्द भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेदेखि मात्रै सेयर कारोबार खुलाएको थियो । त्यसपछि बजार पनि घटेको थियो ।
तथ्यांकअनुसार असोजमा नेप्से १८५.०७ अंकले घटेको थियो । भदौको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६७२.२५ विन्दुमा थियो । असोजको अन्तिम कारोबार दिन त्यो घटेर २४८७.१७ विन्दुमा आयो । कात्तिकको अन्तिम कारोबार दिनसम्म आउँदा त्यो २५४०.५६ विन्दुमा उक्लियो । अर्थात्, कात्तिकमा ५३.४० अंकले नेप्से परिसूचक बढेको देखिन्छ । बिहीबार नेप्से परिसूचक २६०७.३७ विन्दुमा छ ।
असोजमा घटे पनि कात्तिकपछि नेप्से परिसूचक बढ्दै आएको छ । तर, जेन–जी आन्दोलनअघिको अवस्थामा पुगेको छैन । अझै पनि सेयर बजारमा उत्साह देखिएको छैन । त्यसले गर्दा कर्जाको माग नबढेको हुन सक्ने सिइओ खालिङ बताउँछन् ।
‘ऋण लिएर सेयर बजारमा दीर्घकालीन लगानी गर्नुहुँदैन । किनकि, ऋणको ब्याज पनि धेरै तिर्नुपर्छ । त्यसमाथि यस्तो लगानीको प्रतिफल कहिले कति हुन्छ भन्ने पनि ग्यारेन्टी हुँदैन । यसैगरी ऋणको नियमित किस्ता पनि तिर्नु त पर्यो । त्यसो हुँदा ऋण लिएर दीर्घकालीन लगानी गरिँदैन,’ उनले भने, ‘अल्पकालीन लगानी अर्थात् ट्रेडिङ प्रयोजनका लागि ऋण लिएर लगानी गर्ने हो । तर, अहिले सेयर बजारमा लगानी गरेर छोटो समयमै धेरै नाफा कमाउन सक्ने अवस्था देखिन्न । लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । अहिले लगानीकर्तामा लगानी बढाउने कन्फिडेन्स नै देखिन्न । त्यसले गर्दा पनि कर्जाको माग भएनजस्तो लाग्छ ।’
ऋण लिएर लगानी गर्दा ब्याज तिर्न पुग्ने गरी पनि प्रतिफल नआउने डर पनि कतिपय लगानीकर्तामा छ । जेन–जी आन्दोलनपछि सेयर बजार उच्चदरमा घटेपछि बजार बढाउने उद्देश्यअनुसार नै सीमा हटाइएको थियो । तर, त्यसको प्रभाव देखिएको छैन । राष्ट्र बैंकले साउन ०७८ देखि यस्तो कर्जामा विभिन्न सीमा तोक्दै आएको थियो । त्यसअघि बढेको सेयर बजार सेयर धितो कर्जामा सीमा तोकिएकै कारण घटेको भनेर विश्लेषण गरिएको थियो । तर, अहिले सीमा हटाउँदा पनि बजार बढ्न सकेको छैन ।
सामान्यत: बैंकले निक्षेपमा दिने ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने पनि हुन्छ । किनकि, ब्याजदर बढ्दा लगानी निक्षेपमा आकर्षण हुन्छ । ब्याजदर घटेको अवस्थामा लगानी निक्षेपमा सेयर बजारमा आकर्षित हुन्छ ।
अहिले बैंकले दिने ब्याजदर एकदमै न्यून छ । तर, निक्षेपमा लगानी गर्नेले सेयर बजारमा लगानी बढाउन सकेका छैनन् । अहिले बैंकमा ब्याजदर न्यून छ । तरलता पनि छ । तर, लगानीकर्ताले ऋण लिने आँट गरेका छैनन् ।
एक बैंकरले अहिले बजार बढ्ने आधार पनि नभएको बताए । ‘अहिले बजार बढ्ने आधार पनि छैन । बजारमा सूचीकृत कम्पनीहरूको आम्दानी खस्किएको छ । लाभांश पनि धेरै दिन सकेका छैनन् । त्यसले गर्दा सेयर बजार बढ्ने आधार छैन,’ उक्त बैंकरले भने, ‘अनि कर्जाको माग पनि भएन ।’
सेयर लगानीकर्ता छोटेलाल रौनियारले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘जेन–जी आन्दोलन र त्यसपछिको अनिश्चितताले लगानीको वातावरण खलबलिएको छ । थप आन्दोलन हुने हल्लाले पनि लगानीकर्ता हच्किएका छन् । यस्ता कुरा बजारले रुचाउँदैन पनि,’ उनले भने, ‘अहिले आमजनमानसको मनोबल पनि कमजोर छ । अहिले उद्योग, व्यापार क्षेत्रमा पनि लगानी बढेको देखिन्न । सेयर बजारमा पनि नयाँ र ठुला लगानीकर्ता प्रवेश गर्न सकेका छैनन् ।’
यस्तै, पछिल्लो समय प्रि–आइपिओमा पनि लगानी ‘डाइभर्ट’ भएको उनले बताए । ‘अहिले प्रि–आइपिओमा धेरै पैसा लगानी भएको छ । त्यसको असर पनि सेयर बजारमा परेको छ,’ उनले भने, ‘अहिले बजारमा शिथिलता नै छ । राष्ट्र बैंंकले कर्जाको सीमा हटाएर समस्या समाधान हुँदैन । बैंकहरूलाई सेयर किन्न खुला गरेको अवस्थामा बजार चलायमान हुन सक्छ । अन्य आवश्यक सुधार पनि गर्नुपर्छ ।’