- शिक्षकले जातप्रथाबारे पढाउनुभयो । उहाँले भन्नुभयो, ‘जयस्थिति मल्लले व्यवसायका आधारमा जातको विभाजन गरेका थिए । समाजमा उच्च र निम्न जात छन् ।’ मेरो मनमा अनगिन्ती प्रश्न उब्जिए । यदि यो पेसाका आधारमा विभाजन थियो भने आज किन हामीलाई जन्मजात तल्लो ठानिन्छ ?
आफ्नै देशमा पराइजस्तो महसुस हुन्छ । दलित भएकै कारण भोगेको भोगाइ लेख्न थाले भने धेरै हुन्छ । आफ्नो मात्रै तिता अनुभव लेखेँ भने मैलेभन्दा धेरै विभेद भोगेका आमा, बुबा, दिदी, बहिनी र दाजुभाइको पीडा छुट्नेछ । हामी राष्ट्रगानले भनेजस्तो फूलको मालामा उनिएका छैनौँ, काँडाको जीवन बाँचिरहेका छौँ ।
नेपाल पहाडले ढाकेको, बहुसांस्कृतिक, बहुजातीय र बहुभाषिक एउटा सुन्दर देश । बाल्यकालदेखि नै मैले सुनेको थिएँ, ‘विविधतामा एकता छ नेपालमा ।’ मेरो कोमल मनले विश्वास गर्यो कि नेपालीहरू फूलको मालाजस्तै हुन्, जहाँ हरेक फूलको आफ्नै महत्व छ । तर, समय बित्दै जाँदा मेरा ती सुन्दर विचार चकनाचुर हुँदै गए । वास्तविकताले मेरो विचारलाई गलत साबित गर्यो ।
कक्षाकोठामा बिर्सिएको पहिचान
त्यो दिन आज पनि सम्झन्छु । सामाजिक अध्ययनको कक्षा थियो । शिक्षकज्यू नेपालका सांस्कृतिक लुगा, लोकगीत र राष्ट्रिय बाजाका बारेमा पढाउँदै हुनुहुन्थ्यो । उत्साहका साथ उहाँले एक–एक गरेर विद्यार्थीहरूलाई सोध्नुभयो,‘तिम्रो सांस्कृतिक लुगा के हो ?’
मेरो पालो आउँदै थियो । म पनि जवाफ दिन तयार थिएँ । तर मेरो नाम आएन । मेरो पालै आएन । पूरै कक्षा सकियो, तर शिक्षकको नजर मसम्म पुगेन । शिक्षकले दलित समुदायको सांस्कृतिक पहिरन, कला, सीप, योगदानको बारेमा कहिले पढाउनुभएन ।
त्यो दिन मैले महसुस गरेँ, सायद दमाईं जातिको आफ्नो कुनै सांस्कृतिक पहिरन छैन भन्ने । मेरो मनमा एउटै प्रश्न उठिरह्यो, ‘हामी अरूका सांस्कृतिक लुगा सिलाउनका लागि मात्र जन्मिएका हौँ ?’ त्यो कक्षाकोठाको मौनताले मलाई चर्को आवाजमा भन्यो– तिम्रो अस्तित्व यहाँ गणना हुँदैन ।
केही दिनपछि त्यही शिक्षकले जातप्रथाको बारेमा पढाउनुभयो । उहाँले भन्नुभयो, ‘जयस्थिति मल्लले व्यवसायका आधारमा जातको विभाजन गरेका थिए । समाजमा उच्च र निम्न जात छन् ।’
मेरो मनमा अनगिन्ती प्रश्न उब्जिए । यदि यो पेसाको आधारमा विभाजन थियो भने, आज किन हामीलाई जन्मजात तल्लो ठानिन्छ ? किन हामी त्यो ‘पेसा’ परिवर्तन गरेपछि पनि सामाजिक भेदभावबाट मुक्त हुन सकेनौँ ?
शिक्षकले सतीप्रथालाई निर्मूल गरिएको कुरा पढाउँदै गर्दा मेरो दिमागले चिच्यायो,‘के जातप्रथा पनि त्यस्तै क्रूर र अमानवीय प्रथा होइन र ? यसलाई किन अझै जिउँदै राखिएको छ ?’
उत्तर सजिलो थियो, हामी दलित संख्यामा कम छौँ । हाम्रो पीडा तथाकथित ‘उच्च जात’को बहुसंख्यकलाई असर गर्दैन । त्यसैले उनीहरूलाई हामीमाथि हुने अमानवीय व्यवहारको कुनै चासो छैन ।
हरेक दिन भोग्नुपर्ने अपमान
जातीय भेदभावको कुरा गर्दा मसँग धेरै पीडादायी अनुभव छन् । पहिलो अपमान– मेरो आफ्नै गाउँको तथाकथित ब्राह्मणको घरमा प्रवेश निषेध । किनभने म ‘निम्न जात’को थिएँ । दोस्रो अपमान– भाडाको कोठा खोज्दा एउटा पछि अर्को ढोका बन्द भयो । कारण, मेरो जात । तेस्रो अपमान– मैले प्रेमले दिएको खाना र पानी अस्वीकार गरियो । किनभने म ‘छुवाछुत’ जातको मानिने थिएँ । हरेक अस्वीकारले मेरो मानवीय गरिमामा चोट पुर्यायो । तर, म बाँचिरहेँ, किनभने मसँग अरू विकल्प थिएन ।
डा. भीमराव अम्बेडकरले भन्नुभएको थियो, ‘कानुन संशोधन गर्न मानिसहरूका मानसिकता र मन परिवर्तन गर्नुभन्दा सजिलो छ ।’ उहाँले निम्न जातका मानिसहरूका लागि कानुनी संरक्षण सुरक्षित गर्नुभयो ।
नेपालको संविधान २०७२ ले पनि दलित अधिकारलाई संरक्षण र सुरक्षा दिन कानुनी प्रावधान राख्यो । यस संविधान भएका हक हुन् : धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत र भेदभावबाट संरक्षण, धारा ४० मा दलितको हक र दलित आयोगको गठन । यसबाहेक, छुवाछुत र जातीय भेदभाव (अपराध र सजाय) ऐन, २०६८ ले सख्त प्रावधान राखेको छ । तर, यी सबै कानुन कागजमा मात्र सीमित छन् । कार्यान्वयन शून्य छ ! हाम्रो गरिमा र जीवनको संरक्षण अझै सपना मात्र भइरहेको छ ।
मेरो प्रश्न
सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई मेरो प्रश्न छ,‘तथाकथित उच्च जातको व्यक्तिसँग अन्तरजातीय विवाह गरेको भनेर हामीले अझै कति ज्यान गुमाउनुपर्छ ? यस्ता क्रूर हत्याका लागि को जिम्मेवार हो ? के तपाईं पीडित परिवारलाई उनीहरूको सन्तान फर्काउन सक्नुहुन्छ ?’
दलित आयोगका अध्यक्षज्यूलाई मेरो प्रश्न,‘अहिलेसम्म तपाईंले जातीय भेदभाव र छुवाछुतलाई हटाउन के ठोस योजना बनाउनुभएको छ ? कागजमा मात्र वार्षिक प्रतिवेदन पेस गर्नुबाहेक के गर्नुभएको छ ?’
मलाई थाहा छ, उनीहरूसँग कुनै जवाफ छैन । किनभने हामी उनीहरूका लागि मतदाता मात्र हौँ, मतगणनाको संख्या मात्र हौँ । हाम्रो हक र पीडाको उनीहरूलाई कुनै वास्ता छैन ।
परिवर्तनको आशा
जातीय भेदभाव र छुवाछुत समाजबाट त्यसवेला मात्र हट्न सक्छ जब जागरुक अभियान गाउँ–गाउँमा, टोल–टोलमा चल्छ । भेदभाव गर्नेलाई कडा सजाय कानुनमा मात्रै भएर हुँदैन । कार्यान्वयन हुनुपर्छ । दलित समुदायको इतिहास र योगदानलाई समावेश गरी शैक्षिक पाठ्यक्रम सुधार गरिन्छ । दलितहरूले नेपाल निर्माणमा गरेको योगदानको मूल्यांकन गरिनुपर्छ ।
मैले कानुन डिग्रीका लागि होइन, आफ्नो समुदायलाई उठाउनका लागि पढेको हुँ । म विश्वास गर्छु कि एक दिन मजस्ता धेरै मानिस उठ्नेछन् र समानता, आदर र गरिमाका लागि प्रयास गर्नेछन् । यो समय हो उठ्ने, बोल्ने र आफ्नो हकका लागि लड्ने । नसुनिएका आवाज उठाऔँ । निडर बनौँ । आफ्नो जात लुकाउनुपर्ने दिन समाप्त होस्, किनभने महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको थियो, ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन,’ यो पंक्तिलाई वास्तविकतामा परिणत गरौँ । यदि हामीले साँच्चै चाह्यौँ भने, परिवर्तन सम्भव छ । एक हौँ अनि एक भइन्छ ।