गोकर्णेश्वरका विज्ञान शिक्षकलाई आधुनिक एआई प्रविधि तालिम

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकलाई आधुनिक डिजिटल सीप र एआई–आधारित शिक्षण विधिमा सक्षम बनाउने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले शुक्रबार एकदिने विशेष तालिम सम्पन्न गरेको छ। 

नास्टअन्तर्गत रहेको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र (सूचना पहुँच केन्द्र) द्वारा आयोजित ‘प्रभावकारी उपकरण र प्रविधिमार्फत आधुनिक शिक्षक सशक्तीकरण’ तालिममा विज्ञान शिक्षकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

तालिममार्फत आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरेर कक्षाकोठामा सिकाइ कसरी प्रभावकारी बनाउने, शैक्षिक सामग्री कसरी छिटो र व्यवस्थित रूपमा तयार गर्ने, कक्षा–तयारीका कार्यलाई कसरी सरल बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत प्राविधिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागी शिक्षकहरूले एआईले शिक्षण–सिकाइलाई थप सरल, आकर्षक र विद्यार्थीमैत्री बनाउने स्पष्ट मार्गदर्शन पाएको प्रतिक्रिया दिए।

शिक्षकहरूलाई एआई प्रयोग गरेर समय सापेक्ष शैक्षिक सामग्री तयार गर्न र डिजिटल क्षमता अभिवृद्धि  गर्न तालिमले सहयोग पुर्याउने नास्टको सूचना पहुँच केन्द्रका संयोजक प्रदीप ढोडारीले प्रष्ट पारे ।

सुझावित समाचार