- जेन–जी विद्रोहले एकातर्फ युवामा नेतृत्व र राजनीतिप्रतिको मोह जगाइदियो भने अर्कातर्फ देशप्रतिको मोह र सद्भाव कायम राख्न सहयोग गर्यो
भद्रगोल परिस्थितिबिचको अन्योलपूर्ण उठान लगभग न्यूनप्राय: छ, जुन देखायो तत्कालीन जेन–जी संग्रामले । उदाहरणका रूपमा तत्कालमा खस्किएको बंगलादेशको अर्थव्यवस्थालाई लिन सकिन्छ । बस, यही जेन–जी संग्राममाथि सञ्जालको सद्भाव देखाइदिए जनतासमेतले । फ्रेन्ज काफ्काले मेटामर्फोसिसमा उल्लेख गरेझैँ संवादहीनता, अमानवीयता र अस्तित्वबेगर कायापलटनजिकको बिन्दु हुँदै पार भयो, मुलुक नयाँ मोडमा । तर, त्यही मोड वर्तमानमा दिशाविहीन नै लाग्दै छ ।
तत्कालमा फराकिलो जेन–जी मोडमा संकुचन भित्रिनु र भित्र्याउन खोज्नु कलाकारिताको कोसिस केवल सामथ्र्यहीन बन्ने लगभग पक्का छ । यसैलाई कतिपयले आयातित विचारविन्दुका रूपमा लिएका छन्, जसमा विशिष्ट आधार नरहेको लाग्छ । आधार खोज्ने जिम्मा नेपाली दण्डहीन दललाई दिने हो भने तिनले हजारौँ निकाल्छन्, तर यसका निर्धारक केवल जनता हुन । आफ्नो आन्दोलन र परिवर्तनको स्वीकारोक्तिलाई आत्मसात् गर्न नसक्ने तर उग्र–सार्वभौमवादलाई प्रश्रय दिने वर्गको नारा बेकम्माको देखिन्छ । आत्म–निर्णयलाई सर्वोपरि ठान्ने हेतुले यो आलेख भने तयार गरिएको होइन । तनावबाट उत्पन्न परिस्थिति र जटिलताको भित्री तहमै पुगेर निसंकोच र नि:स्वार्थ समाधानका आधार निकाल्न सहयोग गर्नुको सट्टा दोष र रोष प्रकट गर्नु नेतृत्वको विशेषता होइन, किनकि मुलुक हाम्रो अनि मेरो पनि हो ।
बाटो विरानका अनेकन चौबाटा हुन्छन् । विवेकशील चौबाटा चयन अफ्ट्यारा छन् । तर, दीगा छन् । खोइ कसले खोजीदिन्छ त अब विवेकशील चौबाटा ? नेपालकै विश्वविद्यालय बन्न सक्छन् विवेकशील पथप्रर्दशकहरू, जसलाई हामीले ‘होल्डिङ सेल्टर’का रूपमा मात्र उपयोग गर्न सक्यौँ । नेपालका विश्वविद्यालयमा थन्किएर रहेका अनुसन्धान पद्धतिले रोडम्यापका रूपमा काम गर्न सक्छन् भने निर्मित अनुसन्धान केन्द्रहरू यसका संयन्त्र बन्न सक्छन् । जस्तै– हार्वर्ड केनेडी स्कुलको वेल्फेयर विज्ञान तथा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, लन्डन स्कुल अफ इकोनोमिक्सको एलएसई आइडियाज, सुसेक्स विश्वविद्यालयको विकास अध्ययन इस्टिच्युट, जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को विज्ञान तथा नीति अध्ययन केन्द्र आदि । विदेशी विश्वविद्यालयका थिंकट्यांकले मार्गचित्र दिन सक्दा नेपालका सेडा, सिनास, समकालीन अध्ययन केन्द्र आदिले मार्गचित्र प्रदान गर्न नसक्लान् त !
विद्रोहको आयतन
अठारौँ शताब्दीको मध्यताका जब कार्ल माक्र्सले साम्यवादी घोषणापत्र प्रकाशित गरे, त्यहीताका माक्र्सले विद्रोहको आयतनबारे उल्लेख गरेको पाइन्छ । जसमा उल्लेख भएअनुसार सामाजिक अन्तर्विरोधबाट निम्तिएको विद्रोहको मात्रा भौतिक (स्रोत र साधन) र वर्गीय आधारबाट तय गरिन्छ । सापेक्षिक हिसाबमा तत्काल नेपालमा भएको जेन–जी विद्रोह सामाजिक अन्तर्विरोधबाट निम्तिएको हो, तर माक्र्सकै मापनका आधारमा यसका भौतिक र वर्गीय पक्षको आयतन नै यकिन गर्न नसकिने छ । भला यो विद्रोहले भौतिक र वर्गीय एजेन्डा बोकेन, जुन मुलुककै लागि उत्तम भयो ।
विद्रोहको प्राथमिक अडान भ्रष्टाचार हो, तत्कालमा अडानइतर माग बेसंकोच तेस्र्याउनुले प्रभावकारिता र प्रभावशालीतामाथि थप जटिलता प्रदान गर्छ । यसैकारण पनि राज्य सञ्चालनका प्रमुख अंगमा लगामको प्रयास किञ्चित उत्तम मानिन्न । यसैकारण पनि भन्ने गरिन्छ, विधिको शासन र प्रणाली राज्य सञ्चालनका प्रमुख हिस्सा हुन् । प्रणालीगत जटिलता चिर्न सकिएको अवस्थामा मुलुकको अर्थतन्त्र जुरुक्कै उठ्न सक्ने आधार धेरै छन् । यसैबाट मुलुक विकासको घनीभूत आयतनसमेत कोर्न सकिन्छ । हो, यही सामरिक महत्वमाथि नै जेन–जीले मुलुकको ड्राफ्ट कोर्न सक्नुपर्छ । आयतन र मात्रात्मक हिसाबमा तत्कालको जेन–जी विद्रोहले गरिबी र आयबिचको असमान दुश्चक्र (खाडल) पुर्न तथा कम गर्न भूमिका खेल्नुपर्ने हो । तर, सत्तावाद र अनिर्णयको बन्दी बन्ने स्थितिका कारण यसमा सम्बोधन हुने अवस्था भने देखिन्न । अर्थात्, जुनै जोगी आए पनि कानै चिरेकाको अवस्थाबारे चोक–चौतारामा बहस बाक्लिन थालिसकेको अवस्था छ । प्रजातान्त्रिक मुलुक नेपालमा दल खोल्न थालियो, तर चुनाव (जनादेश) मा नजाने हिसाबमा । यसैकारण विधिको शासन कायम भएका मुलुकमा मात्राभन्दा मानक बढी रहेको विधि निर्माण आवश्यक छ ।
कारण र प्रभाव (कज एन्ड इफेक्ट) सिद्धान्तको सेरोफेरो लगभग शून्य रहेको यस जेन–जी विद्रोहले परिणामभन्दा पनि परिमाणमा ध्यान दिएको पाइन्छ, त्यो पनि कति कित्तामा मन्त्रीको सिफारिस हुन्छ भनेर । यो हुँदा विद्रोहको मर्म ‘डेलिभरी’मा समस्या निम्तिन सक्छ । बिस्तारै जातिगत, पार्टीगत, धर्मगत, पेसागत जेन–जीहरूको समूह र उपसमूहको निर्माण र दबाब समूहको क्रियाशीलता बढ्दै जाँदा पहिल्यै गाँसमा झिँगाको अवस्था आउन सक्छ । यसैकारण विद्रोहको ग्राफको उचाइभन्दा पनि लम्बाइमा ध्यान दिनु आवश्यक देखिन्छ । भर्खरै सम्पन्न जेन–जी विद्रोहको ‘ग्राफ’ हामी सबैले देखेको हो । यसैबाट समेत स्पष्ट रूपमा यसको दिगोपनाबारे कल्पना गर्न सकिन्छ र आधाजसो महसुससमेत भइसकेको छ ।
जेन–जी एकरूपीय उद्देश्यको पुस्ता हो, जसमा डिजिटलाइजेसनको मात्रा बढी छ । मान्ने गरिन्छ, डिजिटल पुस्ता चलाख पुस्ता छ, जसले निर्णय निर्माण र कार्यपद्धति सुधारमा ढिलासुस्ती नगरी अनुशासनमा रही नवग्याजेटको प्रयोगबाट या प्रयोग नगरीकन चुस्त एवं दुरुस्त कार्यसञ्चालन गर्छ । मन्त्रिमण्डल गठन, कर्मचारी प्रशासनमा सीधा नीतिगत प्रहार, राज्यकोे चौथो अंगसँग गर्नुपर्ने व्यवहार एवं प्रश्नोत्तर, राजनीतिक दल गठन आदिजस्ता अल्पकालीन व्यवहारले गर्दा पुराना दलले काउन्टर अट्याक (सीधा प्रहार) थालिसकेको अवस्था छ । यसैकारण, आयतन लगभग स्थिरताभन्दा माथि पुगेको पाइन्न ।
अवतरणको खोज : विद्यमान दलमा पछिल्लो समय जनतामा जान स्पष्ट म्यान्डेट लगभग नभएको वर्तमान अवस्थामा सुधारमुखी क्रियाकलापमा जेन–जी पुस्ताले ध्यान दिनु जरुरी देखिन्छ । तर, जेन–जीमा निम्तिएको अन्योलले कोण बहुरूपीय देखिएको छ । जेन–जीको विद्रोह र सत्तामा सीधा प्रवेश सफल त भयो, तर अझसम्म पनि ठोस निकास निस्किएको पाइन्न । यथास्थानमा पुराना दल खुम्चिएका अवस्थामा पनि जेन–जी खुम्चिएर बस्नु दु:खको कुरा हो । यथाविन्दुभन्दा पर र ठोस निर्णयमा जान नसक्ने जेन–जी विद्रोहको बाटो विरानको प्रश्न सतहमै उठ्न थालेको छ ।
गत अक्टोबरमा मादागास्करमा खप्पर र दोहोरो हाडको प्रतीक चिह्नमा जेन–जी लेखिएको प्लेकार्ड लिएर त्यहाँका युवा त्यहाँ विद्यमान भ्रष्टाचार, युवा बेरोजगारी तथा अभावको एजेन्डा बोक्दै त्यहाँका राष्ट्रपति एन्ड्री राजोलिनको विरोधमा निस्किए । यसै प्रकारको शिक्षा र स्वास्थ्यमा बृहत् सुधारका साथै स्वतन्त्र न्यायपालिकाको मागसहित मोरक्कोमा त्यहाँका धनाढ्य प्रधानमन्त्री अजिज अख्नाउचविरुद्ध गत मध्यसेप्टेम्बरमा प्रदर्शन भयो । जेन–जी २१२ नाम दिइएको यो विद्रोह युवाआबद्ध एक अनलाइन समूहले सञ्चालन गरेको उल्लेख छ । यसमा पनि सुधारका विविध विषय बुलन्द भएका थिए । यसलाई त्यहाँका युवा समूहले केवल एक झिल्को मात्र भनेका थिए ।
माथिका विविध युवा विद्रोहका संकेतले केवल सुधारको अपेक्षा गरेका छन् । यसमा व्यक्तिगत हकहितको कुरा उठान भएका छैनन् । नेपालको २००७ कोे प्रजातन्त्र प्राप्तिको एक कारणका रूपमा विश्वव्यापी परिवर्तनको हावा (विन्ड अफ चेन्ज) भनेर मानिएको छ । सोही किसिमको संज्ञा भारतको स्वतन्त्रता आन्दोलन तथा अमेरिकी स्वतन्त्र संग्रामलाई पनि दिइएको छ । उदाहरणका रूपमा यस्ता प्रवृत्ति दक्षिण एसियाली मुलुक श्रीलंका तथा बंगलादेशमा समेत देखिइसकेको हुँदा यसलाई आँक्न सक्ने अवस्था देखिन्न । यसकारण नेपाली जनतासमेतले यसका विकल्पका रूपमा महत्वपूर्ण कार्यदिशा खोज्नु आवश्यक देखिन्छ ।
वैकल्पिक शक्तिका रूपमा राज्यप्रणालीमा अबद्ध हुन सहज देखिन्छ, तर चेतनासहितको सहज अवतरण कठिन विषय हो । यसको वर्तमान उदाहरणका रूपमा जेन–जी समूह देखा पर्दै छन् भने रवि लामिछानेकेन्द्रित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिल्यै यसको गतिलो सिकार भइसकेको हो र दोस्रोपटक फेरि यसै भदौताका थप सिकार बन्न पुग्यो, जुन कल्पनाभन्दा परको यथार्थ थियोे । यसकारण, चेतनाभित्रको भद्रगोलताको सिकारमा दल तथा संगठन पर्न पुगे भने सहज निकास लगभग शून्य छ ।
पछिल्लो समय जेन–जी विद्रोहले निम्तिएको परिस्थिति र सो मेलोका कारण ठुला भनिएका नेपालका दलबिच भएको पछिल्लो समीकरण (अ)रासायनिक देखिन्छ । दलीय रायमा एकरूपता सञ्चयको संकेत हुन सक्छ यो । यस्ता समीकरण विगतमै विकास आबद्ध मिलानमा समाहित गर्न सकेका भए यस्ता युवामुखी विद्रोहको कल्पनासम्म पनि हुन सक्थेन होला । यस विद्रोहले एकातर्फ युवा वर्गमा नेतृत्व र राजनीतिप्रतिको मोह जगाइदियो भने अर्कातर्फ देशप्रतिको मोह र सद्भावसमेत कायम राख्न सहयोग गर्यो । फलस्वरूप पुराना नेपाली दलसमेतले नेतृत्वमा युवा चाहनाको तिर्खा जनतासामु प्रस्ट गरिदियो । यसबाट युवामैत्री राजनीतिक अधिकार खोजको क्रम थप प्रगाढ बन्ने आधारसमेत तयार गरिदियो ।
विद्रोहकोे पाठ : अक्सफोर्ड प्रेसले प्रकाशन गरेको प्राध्यापक ए. अप्पाडोराइको पुस्तक राजनीतिका तत्वमा उल्लेख भएअनुसार राजनीतिक स्वतन्त्रता र पूर्ण प्रजातन्त्रको अभ्यासका लागि लिने र दिने (गिभ एन्ड टेक) को अवस्था आउनुपर्छ । नेपालको परिस्थिति टेकमा मात्र सीमित हुन पुग्यो । योजना छनोटमा टेक, स्रोत प्राप्तीमा टेक, भ्रष्टाचारका गतिविधिमा टेक, बजेट विनियोजनमा टेक आदि । प्रजातन्त्रमा विश्वास गर्ने नेपालजस्ता मुलुकमा यसैकारण पनि यस्ता विद्रोह हुनु आवश्यक थियो । तर, व्यक्तिगत र सार्वजनिक संरचना सखाप बनाउने कोणले होइन ।
माथिको पुस्तकमा भनेझैं समानान्तर गिभ, टेक एन्ड सर्भ (लेऊ, देऊ र सेवा गर) को भावनाको विकास गर्न सकेको भए यस्ता विद्रोह निम्तिने थिएनन् । यदि निम्तिएकै भए पनि निमेषभरमै शान्त भइहाल्थे । यसबाट जनतामा पूर्ण प्रजातन्त्रको प्रत्याभूति र विश्वासको वातावरण निम्तिन सक्थ्यो । समान अर्थ–राजनीतिक अवसर, राजनीतिक समानता र वैकल्पिक शासन प्रणालीको सम्भावनाबारे आकलन गर्न सक्ने युवा पुस्ताको समानान्तर सहभागिताद्वारा शासित राज्यलाई थप प्रजातान्त्रिक बनाउन सकिने पाठ यस जेन–जी विद्रोहले सिकाएको छ ।
(पोखरेल त्रिभुवन विश्वविद्यालय, सिन्धुली बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्)