कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा जग्गाधनी, प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुको मिलोमतोमा हुँदै नभएको घर देखाएर बैंकबाट झण्डै ३४ लाख रुपैयाँ ऋण निकालेको पाइएको छ।
बेलडाँडी– २ का शान्ती नाथले कुनै संरचना नै नभएको जग्गामा घर छ भन्ने झुटा विवरण पेश गरी लक्ष्मी सनराईज बैंकबाट ऋण लिएको र उक्त कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहितका कर्मचारीले सहयोग गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गाउँपालिकाको घरनक्सा पास/अभिलेखीकरणसम्बन्धी कुनै मापदण्ड/कानून निर्माणसमेत नगरेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत जोशीले भवनको नक्सा अभिलेखीकरण/घर नक्सा प्रमाणित गरी झुटा विवरण उल्लेख गरी गलत कागजात तयार पारेको देखिएको अख्तियारले जनाएको छ।
गाउँपालिकाले प्रमाणित गरेको साेही कागजातका आधारमा जग्गाधनी शान्ती नाथले लक्ष्मी सनराईज बैंक, कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार २०७९ असोज १३ गते १० लाख गरी जम्मा ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
उक्त कार्यमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीसहित सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्तीनाथविरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।